२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङका प्रमुख उम्मेदवारद्वारा मतदान


दाङ ।दाङका तीन वटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले आज बिहान आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । दाङका तीन वटै निर्वाचन क्षेत्रबाट स्वतन्त्र र विभिन्न राजनितिक दल गरी ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले मतदान गर्नुभएको छ । उहाँले दंगीशरण गाउँपालिका अन्तर्गत रहेको आधारभूत विद्यालय बैवाङ मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।

दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदान अन्तर्गत नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले आफ्नो मत खसाल्नुभएको छ । पाण्डेले आज बिहान तुलसीपुरको मावि अश्वारा मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो । पाण्डे दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर मास्कीले मतदान गर्नुभएको छ । उहाँले आज बिहान बबई गाउँपालिका–४ स्थित जनश्रम आधारभूत विद्यालय हस्तनापुरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले आज मतदान गर्नुभएको छ । उम्मेदवार सुवेदीले दंगिशरण गाउँपालिकाको रात्री आधारभुत विद्यालय बैवाङ मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।

दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिब तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोख्रेलले मतदान गर्नुभएको छ । उहाँले तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको जनता विद्या पिठ बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले घोराही उपमहानगरपालिका – १५ बाट मतदान गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले घोराही – १७ बाट मतदान गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले भने आफैलाई मतदान गर्न पाउनु भएन । दाङ क्षेत्र नंम्बर २ बाट उम्मेदवार रहेका आचार्यले क्षेत्र नंम्बर ३ अन्तरगत पर्ने तुलसीपुर उपमहानगरपालिका – १२ पशुपति माध्यमिक बिद्यालय हरिपौरीमा मतदान गर्नुभएको छ ।

यस्तै दाङ क्षेत्र नंम्बर १ का कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले गढवा गाउँपालिका – ४ स्थित दीपेन्द्र होमजुन माविबाट मतदान गर्नुभएको छ ।

एमाले उम्मेदवार रेवतीरमन शर्मा घिमिरेले लमही नगरपालिका – ६ स्थित प्राथमिक बिद्यालय दुमदुमा खैरीबाट पहिलो मतदान गर्नुभएको हो । नेकपाका उम्मेदवार मेटमणि चौधरीले गढवा – ७ बाट र रास्वपा उम्मेदवार देबराज पाठकले गढवा – ६ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदाताको बिहानै देखि उत्साहजनक सहभागीता देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस