दाङ । दाङमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ । बिहान ९ बजेर २५ मिनेटसम्म दाङमा ७ दशमलव ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र बहादुर कँवरका अनुसार जिल्लाभर रहेका १५९ मतदान स्थलमध्ये १६ वटा अति संवेदनशील, १३४ वटा संवेदनशील र ९ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अति संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष रूपमा मजबुत बनाइएको आयोगले जनाएको छ ।
बिहान ९ः२५ बजेसम्म सबैभन्दा बढी मत दाङको तुलसीपुर–१९ मा रहेको नवजागरण आधारभूत विद्यालय कुटीचौर (ग) मा ३३३ खसेको सूचना अधिकारी कँवरले जानकारी दिनुभयो ।
आयोगका अनुसार दाङमा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६० जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।















