दाङ । दाङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा चुनावको मतदान भइरहेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङमा दिउँसो १ बजेसम्म ३४ प्रतिशत बढी मतदान गरेका छन् ।
निर्वाचन आयोगका अनुसार दाङमा १ लाख ४९ हजार ५ सय अर्थात ३४ दशमलव ६३ प्रतिशतले मतदान गरेका हुन् । दाङमा कुल मतदाता सङ्ख्या ४ लाख ३१ हजार ६८६ रहेको निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र बहादुर कँवरले जानकारी दिनुभयो । जसमा दुई लाख १३ हजार ३८० पुरुष र दुई लाख १८ हजार ३०३ महिला र तीन जना अन्य मतदाता रहेका छन् ।
कँवरका अनुसार जिल्लाभर रहेका १५९ मतदान स्थलमध्ये १६ वटा अति संवेदनशील, १३४ वटा संवेदनशील र ९ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अति संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष रूपमा मजबुत बनाइएको आयोगले जनाएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।














