दाङ । दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ । आज दिउँसो २ः२५ बजेसम्म १ लाख ९६ हजार बढी मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर वकरले जानकारी दिनुभयो ।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा गरी १ लाख ९६ हजार ४१३ अर्थात् ४५ दशमलव ४९ प्रतिशत मत खसेको सूचना अधिकारी वकरले जानकारी दिनुभयो । जसमा एक लाख ६ हजार ९१४ जना महिला र ८९ हजार ४९९ जना पुरुष रहेका छन् ।
दाङको तीनवटा निर्वाचन क्षेत्र मध्ये सबैभन्दा धेरै मत क्षेत्र नम्बर ३ मा खसेको छ । सूचना अधिकारी वकरका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा ७१ हजार ४९९ मत खसेको छ । उक्त क्षेत्रमा ३१ हजार ६४६ पुरुष र ३९ हजार ८५३ महिला मतदाताले मतदान गरेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा ६६ हजार १८६ मत खसेको छ । त्यसमध्ये ३१ हजार ७५४ पुरुष र ३४ हजार ४३२ जना महिलाले मतदाता रहेका छन् । सबै भन्दा निर्वाचन क्षेत्र नम्बर २ मा ५८ हजार ७२८ मत खसेको छ । उक्त क्षेत्रमा २६ हजार ९९ पुरुष र ३२ हजार ६२९ जना महिला मतदाताले मतदान गरेका छन्।
दाङमा कुल मतदाता सङ्ख्या ४ लाख ३१ हजार ६८६ रहेको निर्वाचन सूचना अधिकारी कँवरले जानकारी दिनुभयो । जसमा दुई लाख १३ हजार ३८० पुरुष र दुई लाख १८ हजार ३०३ महिला र तीन जना अन्य मतदाता रहेका छन् ।
कँवरका अनुसार जिल्लाभर रहेका १५९ मतदान स्थलमध्ये १६ वटा अति संवेदनशील, १३४ वटा संवेदनशील र ९ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अति संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष रूपमा मजबुत बनाइएको आयोगले जनाएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।
दाङमा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६० जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।














