दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामलको मूल्य घटाएको छ । कम्पनीले विभिन्न प्रकारका चामलमा प्रतिबोरा १२५ देखि १५० रुपैयाँसम्म मूल्य घटाएको जनाएको हो ।
स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिबोरा १५० रुपैयाँले घटाइएको छ । यसअघि २ हजार २ सय रुपैयाँ रहेको उक्त चामलको मूल्य घटेर अहिले २ हजार ५० रुपैयाँ कायम भएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
त्यस्तै अरुवा सोना मन्सुली चामलको मूल्य पनि घटाइएको छ । यसअघि प्रतिबोरा १ हजार ६ सय रुपैयाँ रहेको चामल १२५ रुपैयाँले घटेर अहिले १ हजार ४७५ रुपैयाँ कायम भएको सूचना अधिकारी डाँगीले जानकारी दिनुभयो ।
त्यसैगरी अरुवा मोटा चामलको मूल्य पनि प्रतिबोरा १५० रुपैयाँले घटाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । यसअघि सो चामलको मूल्य प्रतिबोरा १ हजार ५५० रुपैयाँ रहेको थियो ।
यसैबीच चिनी प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको कार्यालयका प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई राहत दिने उद्देश्यले चामलको मूल्य घटाइएको बताउनुभयो । कार्यालयका प्रमुख लोवाले सेवाको लाभ लिन उपभोक्तालाई आग्रह पनि गर्नुभएको छ ।















