२०८३ बैशाख ६ गते आइतवार

दलित अधिकारकर्मीद्वारा इनिसा बिकको हत्यारालाई कार्बाहीको माग

दाङ ।
सुर्खेतमा किशोरी इनिशा बिकको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर दाङका विभिन्न दलित अधिकारवादी संघ–संस्थाहरुले गम्भीर आपत्ति जनाउँदै दोषिमाथि कडा कार्बाहीको माग गरेका छन् ।

दलित नागरिक समाजका संयोजक छवि परियार, दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, दलित सेवा संघ संघका अध्यक्ष लिला विक, साझेदारी विकास मञ्चका अध्यक्ष खेमराज बिक, दलित अधिकार तथा सञ्चार अभियान नेपालका महासचिव सन्तोष चनाराले संयुक्तरुपमा विज्ञप्ती जारी गरेर पीडित परिवारलाई न्याय दिन र दोषीलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरिएको छ ।

अधिकारकर्मीहरूले अपराधीलाई राजनीतिक वा प्रशासनिक आडमा बचाउन खोजिएको बताएका छन् । घटनामा संलग्न भनिएका अभियुक्तहरूलाई कानुनी कठघराबाट उम्काउन खेल सुरु भएको भन्दै चिन्ता व्यक्त गरिएको हो ।

पक्राउ परेका ४ जना आरोपीहरूलाई ‘नाबालक’ प्रमाणित गरी सजाय कम गराउन उनीहरूको उमेर घटाउने प्रपञ्च भइरहेको सूचना सार्वजनिक भएको भन्दै अधिकारकर्मीहरूले आपत्ति जनाएका हुन् । किर्ते कागजात खडा गरेर अपराधी बचाउने प्रयास नगर्न र नेपालको न्याय प्रणालीको उपहास नगर्न प्रशासनलाई सचेत गराइएको छ ।

महिला, बालिका र दलित समुदायको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने र बाँच्न पाउने मानव अधिकारको रक्षा गर्न माग गरिएको छ । फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा ट्युसन पढ्न गएकी किशोरी इनिशा बिक माथि सामूहिक बलात्कार गरी हत्या गरिएको थियो । यो अमानवीय र क्रुर घटनाले सम्पूर्ण समाजलाई नै स्तब्ध र आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस