दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका छवि भण्डारीलाई गत कार्तिक ७ गते दिउँसो करिब ३ बजेतिर मोबाइलमा म्यासेज आयो । त्यो म्यासेज थियो बैंक खाताबाट एकाएक पैसा ट्रान्सफर भएकोे ।
शारीरिक रुपमा अपाङ्गता भएका भण्डारी आफूले कसैलाई पनि पैसा नपठाएको अवस्थामा यस्तो म्यासेज आएपछि अचम्ममा पर्नु्भयो । उहाँले कुनै ओटीपी नम्बर कसैलाई नदिएको र कुनै लिंक पनि क्लिक नगरेको अवस्थामा पनि यस्तो घटना भएको बताउनुभएको छ ।
आफ्नो मोबाइलमा मोबाइल बैंकिङ भएकाले चेक गर्दा उहाँको खाताबाट १८ हजार १० रुपैयाँ ट्रान्सफर्मर भएको देखिएको थियो । सोही दिन सार्वजनिक बिदा भएकाले भण्डारीले बैंकको कस्टमर केयरमा सम्पर्क गर्दा उक्त रकम प्रभु बैंकको खातामा ट्रान्सफर भएको र १० रुपैयाँ सेवा शुल्कसमेत काटिएको जानकारी पाउनुभएको थियो ।
त्यसपछि उहाँले प्रभु बैंकको कस्टमर केयरमा पनि सम्पर्क गर्नुभएको थियो । बैंकले थप जानकारीका लागि शाखामा उपस्थित हुन आग्रह गरेको थियो । भण्डारी कार्तिक ९ गते नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तुलसीपुर शाखामा पुग्नुभएको थियो । बैंकमा बुझ्दा रकम दोलखाका उत्सव फुयालको खातामा ट्रान्सफर भएको जानकारी पाएको उहाँले बताउनुभयो ।
रकम फिर्ता ल्याउने प्रक्रियाबारे सोध्दा बैंकका कर्मचारीले सूचना प्रविधि (आईटी) शाखामा निवेदन दिन सुझाव दिएका थिए । त्यसपछि भण्डारीले निवेदन दिनुभएको थियो । बैंकबाट भण्डारीलाई प्रहरीमा पनि निवेदन दिन सुझाव दिएपछि सोही दिन उहाँले इलाका प्रहरी कार्यालय तुलसीपुरको मुद्दा शाखामा निवेदन दिनुभएको थियो ।
निवेदन दिएपछि पनि बैंकबाट कुनै फोन, म्यासेज नआएको उहाँले बताउनुभयो ।
शारीरिक रुपमा अपाङ्गता भएका भण्डारीको मुख्य आम्दानीको स्रोत सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता हो । औषधि र दैनिक आवश्यकताका लागि प्रयोग हुने उक्त रकम हराएपछि उहाँ मानसिक र आर्थिक रुपमा नै समस्यामा परेको जानकारी दिनुभयो । घरमा अरु कमाउने व्यक्ति नभएकाले समस्या झन् बढेको थियो । ।
व्हीलचेयरमा बसेर बैंक, प्रहरी तथा विभिन्न निकाय धाउनु परेको उहाँको भनाइ छ । भण्डारीले बैंक खाताबाट हराएको रकम झण्डै पाँच महिनापछि फिर्ता पाउनुभएको छ । यहि फागुन २९ गते बिहान करिब ११ बजेतिर आफ्नो खातामा रकम फिर्ता आएको म्यासेज आएको उहाँको भनाई छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको पहलमा हराएको रकम फिर्ता आएपछि आफुले न्याय पाएको अनुभुति गरेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार भण्डारीको खाताबाट हराएको रकम उत्सव फुयालको नाममा ट्रान्सफर भएको देखिएपछि अनुसन्धान सुरु गरिएको थियो । निवेदन प्राप्त भएपछि बैंकबाट केवाईसी विवरण माग गरी त्यसका आधारमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा भण्डारीको रकम दोलखाको व्यक्तिको खातामा पुगेको देखिएपछि तुलसीपुर प्रहरीले दोलखा प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीका अनुसार भण्डारीको खाताबाट पैंसा हराएको दिन नै उक्त रकम विभिन्न ६–७ जनाको खातामा ट्रान्सफर गरिएको देखिएको थियो । सोही दिन उक्त खाताबाट करिब १२ देखि १५ लाख रुपैयाँसम्मको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दोलखा प्रहरीको समन्वयमा अनुसन्धान गदै जादाँ भण्डारीको हराएको रकम मोरङका एक व्यक्तिमार्फत फागुन २९ गते फिर्ता गराइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान साइबर ब्युरोमार्फत भइरहेको प्रहरीले जनाएको छ । कसुरको प्रकृति हेरेर विद्युतीय अपराध सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
यसैबीच प्रहरीले नचिनेका व्यक्तिबाट आउने फोन, चिठ्ठा परेको जस्ता बहानामा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । शंकास्पद फोन वा म्यासेज आएमा नजिकैको प्रहरीमा जानकारी गराउन इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुरोध गरेको छ ।















