दाङ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।
निगमका अनुसार सोमबार बिहानदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ ।
निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । आफ्नो पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको निगमले जनाएको छ ।
निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।
निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
















