दाङ। दाङमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार गएको फागुन महिनामा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या बढी देखिएको हो ।
फागुन महिनामा ९ सय ४१ जनाले नयाँ नागरिकता बनाएका छन् । तर सोहि अवधिमा ९ सय ७३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । एक महिनाको अवधिमा नयाँ नागरिकता बनाउनेको तुलनामा प्रतिलिपि नागरिकता लिने ३२ जना बढी रहेका छन् ।
नेपाल नागरिकता नियमावली, २०६३ को नियम १५ बमोजिम नागरिकता हराएमा, च्यातिएमा, झुत्रो भएर काम नलाग्ने अवस्थामा पुगेमा वा विवरण सच्याउनु परेमा प्रतिलिपि लिन पाउने व्यवस्था छ । तर अधिकांश व्यक्तिले नागरिकता हराएको भन्दै प्रतिलिपि लिने गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
बारम्बार नागरिकता हराउनु वा प्रतिलिपि लिनुलाई सुरक्षाको दृष्टिकोणले राम्रो मानिँदैन । पटक पटक प्रतिलिपि लिँदा भविष्यमा व्यक्तिगत विवरणको दुरुपयोग हुने जोखिम बढ्ने भएकाले सकेसम्म सक्कल प्रमाणपत्रलाई सुरक्षित राख्नु नै उत्तम हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।
फागुन महिनामा तीन जनाले आमाको नामबाट नागरिकता लिएका छन् । यस्तै दुई जनाले गैरआवासिय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यस्तै तीन जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन् भने एक जनाले अंगिकृत नागरिकता लिएका छन् ।














