
दाङ। देशका धेरैजसो युवा रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दो छ । तर, तुलसीपुर उपमहानगरपालिका–७ अमेल्चीनगरका बिष्णु बहादुर जिसी भने विदेशबाट फर्किएर कृषि कर्ममा रमाउनुभएको छ । ११ वर्ष मलेसियामा पसिना बगाएर फर्किएका जिसी अहिले आफ्नै गाउँमा कृषि पेशामार्फत आत्मनिर्भर मात्र बन्नुभएको छैन, उहाँ धेरैका लागि उदाहरण समेत बन्नुभएको छ ।
जिसीले २०७८ सालमा व्यावसायिक रूपमा मौरीपालन सुरु गर्नुभयो । सुरुमा जम्मा २ वटा घारबाट सुरु भएको मौरीपालन आज १०० भन्दा बढीमा पुगेको छ ।
जसको २२ वटा घार स्थानीय मौरी जातका छन् भने बाँकी विकासी मौरीका । आज उहाँसँगको मौरीपालन एउटा ठूला सम्भावना बोकेको व्यवसायको रूपमा विकसित भएको छ ।

‘विदेश जाँदाअघि पनि मौरीपालन थोरै गर्थेँ, फर्किएपछि भने यसलाई पेशाकै रूपमा रोजें’ जिसीले भन्नुभयो–‘चार वर्षमै यसरी विस्तार होला भन्ने सोचेको थिइनँ ।’
हाल जिसीले उत्पादन गर्ने मह तुलसीपुर लगायत आसपासका बजारमा सजिलै बिक्री हुन्छ । तर, भारतबाट सस्तो मूल्यमा आउने महले नेपाली महको मूल्य घटाइदिने गरेको उहाँको अनुभव छ ।

अहिले उहाँले उत्पादन गर्ने विकासी मौरीको मह प्रतिकिलो ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘मूल्य कम्तीमा सात सय भए किसानको उत्साह अझ बढ्ने थियो ।’ जिसी भन्नुहुन्छ–‘विदेशी महको बर्चश्व हुँदासम्म नेपाली महले बजार पाउँदैन ।’
मौरीपालनमा मात्र सीमित नभई जिसीले ब्रोइलर, टर्की र बन कुखुरापालन समेत गर्दै आउनुभएको छ । करिब एक हजार कुखुरा र टर्की पालेका उहाँले कुखुराको मासु र अण्डाबाट पनि राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

मौरीपालन देख्दा सहज लागे पनि वास्तविकता भने फरक छ । वर्षमा कम्तीमा ६ महिना मौरीलाई जिल्लाबाहिर चराउन लैजानुपर्ने बाध्यता हुन्छ । विभिन्न स्थानमा मौरी चराउन लैजाँदा खर्च, श्रम र समय दुबै लाग्ने जिसीको अनुभव छ । तर, मेहनत गरे फल पाइन्छ भन्ने विश्वासले उहाँ निरन्तर लागिपर्नुभएको छ ।
विदेशमा भन्दा सुख स्वदेशमा
११ वर्ष मलेसियामा श्रम बेचेर फर्किएका जिसी भन्नुहुन्छ–‘विदेशमा परिवार टाढा राखेर काम गर्दा धेरै पैसा कमाएजस्तो लाग्छ तर मन खुशी हुँदैन । यहाँ घरपरिवारसँगै रहँदा पसिना बगाएर कृषि गर्दा जुन सन्तोष मिल्छ, त्यो विदेशमा पाइन्न ।’
उहाँले स्वदेशमै रोजगारी खोज्न युवालाई आग्रह गरेका छन् । मेहनत गर्ने मान्छेलाई कृषिमा सम्भावना नभएको होइन, आवश्यक भने मेहनत हो । कुखुरापालनदेखि मौरीपालनमा सक्रिय जिसीले गाउँमै आत्मनिर्भर जीवन बिताउँदै आउनुभएको छ । कृषि पेशाबाटै जीवन चलाउन सकिन्छ भन्ने उदाहरण दिनुभएका उहाँले वार्षिक ८ लाख बढी महबाटै आम्दानी गरिरहनुभएको छ ।