दाङ । क्षयरोग निवारणमा समस्या देखिएको छ । रोग निवारणका लागि वर्षेनि ठुलो लगानी हुने गरेपनि संक्रमित थपिने क्रम उच्च देखिएको छ । दाङमा करिब चार वर्षको अवधिमा ४ हजार ८ सय ७५ जना नयाँ संक्रिमित थपिएका छन् ।
पछिल्लो चार वर्षको तथ्यांकले दाङमा क्षयरोगीको संख्यामा कमी नआएको देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा दाङमा एक हजार दुई सय ९१ जना क्षयरोगका नयाँ संक्रमित फेला परेका थिए । यस्तै आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय १५, आव २०७९/८० मा एक हजार दुई सय ९३ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को चैत ८ गतेसम्मको तथ्यांक हेर्दा दाङमा यो वर्ष पनि आठ सय ७६ जना नयाँ क्षयरोगी फेला परेका छन् ।
पछिल्ला चार वर्षकै तथ्यांकले दाङमा सबैभन्दा धेरै क्षयरोगी घोराही र तुलसीपुरमा छन् भने सबैभन्दा कम राजपुर गाउँपालिकामा भेटिएका छन् । क्षयरोगका कारण दाङमा वर्षेनि नागरिकहरुले मृत्युवरण गरिरहनुपरेको छ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षको नौ महिना नबित्दै २० जना संक्रमितको मृत्यु भएको छ । औषधि सेवनमा लापरवाहीसँगै दीर्घरोग लागेका संक्रमितहरुको मृत्यु भएको हो । यस्तै मधुमेह, उच्च रक्तचाप, मिर्गौलाका रोगी, क्यान्सर लागेका व्यक्तिहरुलाई उपचार गर्दा गर्दै पनि मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज पौडेलले बताउनुभयो ।



















