२०८२ चैत्र १२ गते बिहिवार

तुलसीपुरको मेट्रो अस्पतालमा रोकिएको सेवा शुरु

दाङ, ११ चैत । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर–८ स्थित मेट्रो अस्पतालमा विगत डेढ वर्षदेखि अवरुद्ध भएको चिकित्सकीय सेवा सञ्चालनमा आएको छ । कार्यरत चिकित्सकले छोडेपछि रोकिएको चिकित्सकिय सेवा मंगलबार संचालनमा आएको हो ।

कोभिड महामारीको समयमा तुलसीपुर उपमहानगरपालिकाले जनरल सेवा प्रवाह गर्ने उद्देश्यका साथ यो अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालबाट अहिले ओपिडी, नर्सिङ, फार्मेसी, ल्याब, एक्सरे, भिडियो एक्सरेलगायतका सेवाहरु प्रवाह भइरहेको जनस्वास्थ्य शाखा प्रमुख ओमप्रसाद न्यौपानेले बताउनुभयो ।

मेट्रो अस्पतालबाट हुने सेवा प्रवाह खासगरी तुलसीपुरका १, २, ३, ८ र ९ नं. वडा, दंगीशरणको ५ र शान्तिनगर गाउँपालिकालाई लक्षित गरिएको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अस्पतालबाट वडाहरुमा विभिन्न रोगसम्बन्धी स्क्रिनिङ क्याम्प तथा स्वास्थ्य शिविरहरु सञ्चालनमा सहज हुने विश्वास पनि लिएको न्यौपानेले बताउनुभयो ।

मेट्रो अस्पताललाई कुनै एउटा विधाको विशेषज्ञ सेवा प्रवाह हुने अस्पतालको रुपमा विकास गर्ने योजनाको साथ संघ र प्रदेश सरकारसँग अनुमतिका लागि पत्राचार गरिएको र हालसम्म अनुमति नपाएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नभुएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस