२०८२ चैत्र १४ गते शनिवार

भैलो खेलेर संकलन गरेको पैसाबाट मन्दिर निर्माण, मन्त्री अधिकारीद्वारा उद्घाटन

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाका युवाहरूले भैलो खेलेर संकलन गरेको रकमबाट दुर्गा भवानीको मन्दिर र मूर्ति निर्माण गरेका छन् । कपुरकोट गाउँपालिका वडा नं. ४ किमुचौर, मालारानी टोलका युवाहरूले गत तिहारमा भैलो खेलेर जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गर्दै मन्दिर निर्माण गरेका हुन् ।

नवनिर्मित दुर्गा भवानीको मन्दिर र भगवतीको मूर्तिको आज चैते दशैंको अवसर पारेर कर्णाली प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सुरेश अधिकारीले एक विशेष समारोहका बीच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले युवाहरूले आफ्नो संस्कृति जगेर्ना गर्दै संकलन गरेको रकमलाई धार्मिक तथा सामाजिक पूर्वाधार निर्माणमा खर्चनु प्रशंसनीय र उदाहरणीय कार्य भएको बताउनुभयो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच, कपुरकोटमै रहेको प्रसिद्ध धार्मिक स्थल दक्षिणी कालिका मन्दिरमा पनि आज चैते दशैंको अवसरमा विशेष पूजाआजा र मेला लागेको छ । सोही अवसरमा मन्त्री सुरेश अधिकारीले मन्दिर परिसरभित्र निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरूको समेत उद्घाटन गर्नुभयो ।

मेलालाई थप आकर्षक बनाउन मन्दिर परिसरमा विभिन्न लोक भजन तथा धार्मिक नाचगान प्रतियोगिताको आयोजना गरिएको छ । चैते दशैंका अवसरमा कपुरकोट क्षेत्रका यी मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस