दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अदालतको फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्र पारेको छ । प्रहरीले पछिल्लो १० दिनको अवधिमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका २१ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले फरार अभियुक्तहरूको खोजीका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत चैत १५ गतेदेखि २४ गतेसम्मको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भएका उनीहरूलाई अदालतले कुल चार वर्ष आठ महिना १९ दिन कैद र १ लाख ९ हजार ६ सय ५७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
लामो समयदेखि फरार रहेका उनीहरू पक्राउ परेसँगै अदालतको फैसला कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासनलाई प्रभावकारी बनाउन प्रहरीले यस्ता फरार अभियुक्तहरूको खोजी कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रवक्ता बोहराले जानकारी दिनुभयो ।














