२०८३ बैशाख १ गते मङ्गलवार

हाम्रो पहुँच सेकेण्डरी स्कुलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक


दाङ । हाम्रो पहुँच सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्यालयले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरेको हो ।

नर्सरीदेखि कक्षा ९ सम्मको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाफल सार्वजनिक गरिएकोे विद्यालयका प्रधानाध्यापक शिव पुनले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूको नतिजा सुधारका लागि अभिभावक, विद्यालय र विद्यार्थीबीच त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको बताउनुभयो ।

प्रधानाध्यापक पुनले अभिभावक, शिक्षक र विद्यार्थीको संयुक्त मेहनतका कारण कक्षा ५ र ८ को पालिका स्तरीय परीक्षा तथा अन्य कक्षाको नतिजा उत्कृष्ट आएको जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्दै उहाँले संस्कारसहितको व्यवहारिक शिक्षा प्रदान गर्दै आएको पनि बताउनुभयो ।

उहाँले अभिभावकहरुलाई परीक्षाफल सार्वजनिक हुने कार्यक्रममा मात्र नभई नियमित रूपमा कम्तीमा महिनामा एकपटक विद्यालयमा आएर आफ्ना छोराछोरीको पढाइबारे जानकारी लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले विद्यालयले व्यवहारिक शिक्षामा जोड दिएकाले छोटो समयमै अभिभावकको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले संस्थाका शेयर सदस्य नभएका अभिभावकलाई सदस्यता लिएर संस्थाले प्रदान गर्ने सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । संस्थाले शेयर सदस्यका छोराछोरीलाई मासिक शुल्कमा १० प्रतिशत छुट उपलब्ध गराउँदै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीको नतिजाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो नतिजाको अपेक्षा व्यक्त गरेका थिए । साथै विद्यालयले परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरी पुरस्कृत गरेको थियो ।

वि.सं. २०६९ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । विद्यालयमा हाल करिब १ हजार ६ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक शिव पुनको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रमको सहजीकरण शिक्षक अर्जुन बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस