२०८३ बैशाख १ गते मङ्गलवार

मलेसियामा हत्या गरिएका बेदबहादुरको शव २० दिनपछि घर आइपुग्यो

दाङ। मलेसियामा साथीको चक्कु प्रहारबाट मृत्यु भएका दाङका एक युवाको शव २० दिनपछि घरमा आइपुगेको छ । शान्तिनगर गाउँपालिका–३ का २१ वर्षीय बेदबहादुर बुढाको शव शुक्रबार घर ल्याइएको हो ।

गत चैत ८ गते मलेसियामा सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट बुढाको निधन भएको थियो । परिवारको आर्थिक अवस्था सुधार्न एक वर्षअघि मात्रै ‘सदिक्षा ओभरसिज प्रालि’ काठमाडौंमार्फत उनी मलेसिया उडेका थिए ।

पारिवारिक स्रोतका अनुसार, मृतक बेदबहादुर र उनीसँगै बस्ने साथीबीच केही समयअघि सामान्य विवाद भएको थियो । गत चैत ८ गते शौचालय जाँदै गरेको अवस्थामा पछाडिबाट चक्कु प्रहार गरी उहाँको हत्या गरिएको थियो ।

२१ वर्षको अल्पायुमै ज्यान गुमाएका बेदबहादुर अविवाहित थिए । विदेशी भूमिमा ज्यान गुमाएका बुढाको शव नेपाल ल्याउन झण्डै तीन हप्ता लागेको छ । आप्रवासी स्रोत केन्द्र (सामी) तुलसीपुरको विशेष पहल र सहजीकरणमा शव निःशुल्क रूपमा नेपाल ल्याइएको हो ।

आप्रवासी स्रोत केन्द्र तुलसीपुरकी प्रमुख प्रिति घर्ती मगरका अनुसार प्रक्रियागत झन्झटका बाबजुद सामी कार्यक्रमको समन्वयमा शव ल्याउन सम्भव भएको हो ।

शव नेपाल ल्याउने काम सकिएको र अब परिवारले काजक्रिया सकेपछि नियमानुसार पाउने आर्थिक सहायताका लागि पनि पहल गरिदिने उहाँले बताउनुभयो ।

मृतकका परिवार यतिबेला शोकमा डुबेका छन् । एकातिर प्रियजन गुमाउनुको पीडा छ भने अर्कोतिर परिवारको भविष्य सुनिश्चित गर्ने खम्बा ढल्दा उनीहरूमा थप चिन्ता थपिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस