दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा होटल म्यानेजमेन्ट विषयप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले व्यावहारिक रूपमा सीप सिक्दै व्यावहारिक सीप सिक्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरका कल्पना मगर हाम्रो पहुँच सेकेन्डरी स्कुल कक्षा १२ मा पढ्नुहुन्छ । सानैदेखि खाना पकाउने र विभिन्न व्यक्तिहरुसंग संवाद गर्ने रुचि राख्ने कल्पनाले होटल म्यानेजमेन्ट विषय रोज्नुभयो । होटल म्यानेजमेन्ट विषय पढेरे गेस्टहरूसँग कसरी व्यवहार गर्ने भन्ने ज्ञान सिक्नुका साथै खानाका विभिन्न परिकारहरु बनाउन सिकेको उहाँले बताउनुभयो । धेरै जनाले यो विषय लिएर पढेकालाई खाना पकाउने र भाडा माझ्ने मात्रै सोच्ने गर्दछन् तर यहाँ धेरै कुराहरू सिक्ने गरेको उहाँको भनाई छ ।

यस्तै तुलसीपुर–७ पर्सेनीका नवीन कँडेलले पनि हाम्रो पहुँच सेकेण्डरी स्कुल कक्षा १२ मा होटल म्यानेजमेन्ट विषय पढ्नुहुन्छ । उहालाई होटेल म्यानेजमेन्ट विषय पढेर गेस्टहरुलाई कसरी ह्यान्डल गर्ने, कसरी बोल्ने भन्ने कुराको ज्ञान भयो । यो विषयले हस्पिटालिटीसम्बन्धी धेरै ज्ञान हासिल गरेको उहाँले बताउनुभयो । यो विषय पढेर आफ्नो हातमा रहेको सीपलाई प्रयोग गरेर विभिन्न व्यक्तिहरुलाई स्वाद चखाउन पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ ।

तुलसीपुर–६ का मनिषा पन्थीलाई होटल म्यानेजमेन्ट विषयले अनुशासन र सीप दुवै विकास भएको अनुभूति भएको छ । विद्यालयले होटल म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थीहरूका लागि एक महिनाको प्राक्टिकल कक्षा सञ्चालन गरेकोमा विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारहरु बनाउन सिक्नुभएको छ । उहाँलाई यो विषय पढेर भविष्यमा नेपालमै केही गर्ने आत्मविश्वास पनि बढेको छ ।

पछिल्लो समय विद्यार्थीहरूको आकर्षण होटल म्यानेजमेन्टतर्फ बढ्दै गएको छ । आफुले सिकेका सीपलाई व्यवहारमा लागू गरेर अगाडी बढ्न चाहने विद्यार्थीहरुलाई धेरै सहज हुने विद्यालयका शिक्षक कमल पन्थीले बताउनुभयो । उहाँले हाम्रो स्कुलले विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा धेरै कुराहरु सिकाउँदै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यालयले स्थापना कालदेखि नै व्यावहारिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि केही गरौँ भन्ने उद्देश्यले स्थापना भएको विद्यालयले स्थापनाकालदेखि नै विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले विद्यार्थीहरूलाई विद्यालयमा झिकाउने मात्रै नभई ज्ञान सिकाउने, बजारमा बिकाउने र टिकाउने बनाउने गरेको उहाँको भनाइ छ ।
विद्यालयले प्लस टु सञ्चालन गरेको यो तेस्रो वर्ष हो । तर होटल म्यानेजमेन्टको पहिलो ब्याचमा २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले होटल म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थीहरूका लागि एक महिनाको प्राक्टिकल कक्षा सञ्चालन गरेको थियो । यस अवधिमा विद्यार्थीहरूले १५ देखि २० प्रकारका परिकार तयार गरेका छन् ।
प्राक्टिकलका लागि आवश्यक सम्पूर्ण सामग्रीमा विद्यालयले लगानी गरेको थियो । पछिल्लो समय विद्यार्थीहरूको आकर्षण होटल म्यानेजमेन्ट विषयतर्फ बढ्दो रहेको छ । बजारमा पनि अहिले विद्यार्थीहरूको माग बढिरहेकाले १२ पास गरिसकेपछि विद्यार्थीहरूलाई बजारमा पठाउने प्रधानाध्यापक पुनले बताउनुभयो ।
विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने प्लस टुमा २ सय बढी रहेका छन् । विद्यालयमा व्यवस्थापन संकाय अन्तर्गत कम्प्युटर साइन्स, फाइनान्स र होटल म्यानेजमेन्ट विषयहरू अध्यापन हुँदै आएका छन् ।
















