२०८३ बैशाख २६ गते शनिवार

करङ्गा चोकमा कृषि हाट बजार सञ्चालनमा


दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ करङ्गा चोकमा स्थापना गरिएको कृषि हाट बजार शनिबारदेखि संचालनमा आएको छ । स्थानीय उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यसहित हाटबजार सञ्चालनमा आएको हो ।

गुहारखोला कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मणकुमार शर्माको अध्यक्षता तथा तुलसीपुर–१४ का वडा अध्यक्ष शंकरकुमार खड्काको प्रमुख आतिथ्यतामा हाट बजारको शनिबार उद्घाटन गरिएको हो ।

वडा अध्यक्ष खड्काले स्थानीय उत्पादनको प्रवद्र्धन नै दिगो विकासको आधार भएको बताउनुभयो । उहाँले यो कार्यलाई वडा कार्यालयबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड उहाँले यसबाट किसान प्रोत्साहित हुनुका साथै स्थानीय अर्थतन्त्र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

तुलसीपुर–१५ का वडा अध्यक्ष लक्ष्मण चौधरीले हाट बजार केन्द्रले किसान र उपभोक्ताबीचको दूरी घटाउने र बिचौलियाको प्रभाव कम गर्ने बताउनुभयो ।

त्यस्तै, गुहारखोला कृषि सहकारी संस्थाका अध्यक्ष शर्माले हाट बजार सञ्चालनले किसानलाई उत्पादनको उचित मूल्य दिलाउनुका साथै बजार अभावको समस्या समाधान गर्ने बताउनुभयो ।

स्थानीय रूपमा उत्पादन हुने तरकारी, फलफूललगायत कृषि उपजको व्यवस्थित बिक्री वितरण गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यस केन्द्रले स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र कृषकलाई आत्मनिर्भर बनाउन टेवा पुग्ने बताउनुभयो । साथै वडा नम्बर १४ र १५ का सम्पूर्ण बासिन्दालाई यस केन्द्रको अधिकतम उपयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

तुलसीपुर–१५ मलवारमा रहेको मलवार कृषि सहकारी संस्था र तुलसीपुर–१४ करङ्गामा रहेको गुहारखोला कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा हाट बजार केन्द्र सञ्चालनमा आएको छ ।

उक्त हाट बजार प्रत्येक शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण गुहारखोला सहकारीका सचिव टंक प्रभात केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस