२०८३ बैशाख ६ गते आइतवार

हाम्रो पहुँच स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम गरिएको हो ।

कक्षा ११ का विद्यार्थी विजय खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता तथा प्याव्सन तुलसीपुरका नगर अध्यक्ष डम्मर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षातर्फ अघि बढ्न लागेका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले कक्षा १२ उत्तीर्ण गरेपछि धेरै विद्यार्थी अन्योलमा पर्ने भएकाले स्पष्ट लक्ष्य निर्धारण गरी आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिनुभयो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले विद्यार्थीहरु नयाँ जीवनको सुरुवात गर्न लागेको बताउनुभयो । उहाँले विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक सीप पनि प्रदान गरेको बताउँदैै विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको अवसर खोज्न आग्रह गर्नुभयो ।

त्यसैगरी प्याव्सन तुलसीपुरका नगर अध्यक्ष डम्बर डाँगीले सफलताको लागि निरन्तरता र लगनशीलता हुनुपर्ने बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीले विद्यार्थीहरुलाई स्वदेशमै बिकाउने र टिकाउने शिक्षा प्रदान गरेको बताउनुभयो ।

कक्षा १२ का विद्यार्थी पूर्णिमा भण्डारी, मोहम्मद आसिफ र खिमा भण्डारीले यो दुई वर्षको अवधिमा विद्यालयबाट पढाइ संगसंगै व्यवहारिक सिपहरु सिक्न पाएको बताउनुभयो । उनीहरुले अकाउन्टिङ प्याकेज, उद्घोषण कला,व्यवसायिक सीप लगाएतका कुराहरु विद्यालयले सिकाएको बताएका थिए । विद्यालयले प्रदान गरेको ज्ञान र सिपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा संस्थाका सचिव जीवराज अधिकारी, विद्यालयका संयोजक कृष्णप्रसाद पोखरेल, शिक्षक अर्जुन बस्नेत, सुमन भण्डारी, लक्ष्मी घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

धन्यवाद ज्ञापन विद्यालयका प्रधानाध्यापक शिव पुनले गर्नुभएको थियो । कक्षा ११ का विद्यार्थी सुस्मिता चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कक्षा ११ का विद्यार्थी बिन्दु परियार र बिन्दु भण्डारीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस