दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले पशुपालक किसानहरूलाई लक्षित गरी ‘काउ म्याट’ वितरण गरेको छ । पशुको स्वास्थ्य सुधार र उत्पादन वृद्धि गर्ने उद्देश्यले उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा १०९ वटा काउ म्याट वितरण गरेको हो ।
शुक्रबार तुलसीपुर उपमहानगरका १७ जना व्यावसायिक पशुपालक किसानहरूलाई म्याट हस्तान्तरण गरिएको हो । प्रति म्याट ६ हजार ४ सय रुपैयाँ पर्ने भएतापनि किसानहरूलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको पशु शाखा प्रमुख डा. मनोज वलीले बताउनुभयो ।
उहाँले पक्की खोरमा भुईँ चिसो हुने भएकाले त्यसबाट पशुलाई बचाउन म्याट प्रभावकारी हुने बताउनुभयो । पशुलाई आरामदायी वातावरण दिएर मात्रै अपेक्षित उत्पादन लिन सकिने उहाँको धारणा छ । पक्की खोरमा म्याट अनिवार्य जस्तै हुने डा. वलीले बताउनुभयो ।
नगरप्रमुख टिकाराम खड्काले किसानको माग र सल्लाह बमोजिम काउ म्याट वितरण गरिएको बताउनुभयो । उहाँले बिगतका वर्षमा चिसोका कारण पशुपालक किसानले गाई भैसी मरेर ठुलो क्षति बेहोर्नुपरेको स्मरण गर्दै यसपटक उपमहानगरपालिकाले ‘काउ म्याट’ वितरणको योजना ल्याएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले स्थानीय सरकारले बजेट निर्माण गर्दा नै किसान केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कृषि र पशुपालनका क्षेत्रमा प्रोत्साहनका कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
अनुदानमा म्याट पाएपछि किसान शशीराम बुढाथोकीले खुसी व्यक्त गर्नुभयो । उहाँले लगानीको हिसाबले यो थोरै देखिए पनि किसानका लागि यसको महत्त्व निकै ठुलो रहेको बताउनुभयो । म्याटले पशुलाई चिसोबाट बचाउन सहयोग गर्ने उहाँको भनाई छ ।
उहाँले चिसो समयमा दूध बिक्रि गर्न समस्या हुने हुँदा घरमै भण्डारण गरेर राख्नका लागि चिलिङ भ्याटको व्यवस्था गरिदिन समेत उपमहानगरलाई आग्रह गर्नुभयो ।
यस्तै अर्का किसान डिल्ली बहादुर वलीले काउ म्याटले पशुको स्वास्थ्य सुधार हुने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउन साना लगानीका यस्ता औजार र उपकरणमा सहयोग गर्दै आएको छ । कृषि संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पशु सेवा शाखाका सुनिता शर्माले गर्नुभएको हो ।
















