तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको राप्ती आयुर्वेद चिकित्सालयमा र्स्णविन्दु खुवाउने अभिभावकहरुको आकर्षण बढ्दो रहेको छ । चिकित्सालयले बितेको सात महिनाको अवधिमा २८ हजारभन्दा बढी बालबालिकालाई स्वर्णविन्दु खुवाएको हो ।

चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरदेखि जेठसम्म कुल २८ हजार ६ सय ५३ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेको चिकित्सालयले जनाएको छ ।
चिकित्सालयका प्रमुख डा. मदनकुमार बिसीका अनुसार स्वर्णविन्दु सेवन गर्ने बालबालिकामध्ये बालिकको संख्या बालकोभन्दा बढी रहेको छ । सात महिनाको अवधिमा १४ हजार ५ सय ६२ जना बालिका र १४ हजार ९१ जना बालकले स्वर्णविन्दु सेवन गरेका छन् ।

चिकित्सालयले मंसिर महिनादेखि नियमित रूपमा स्वर्णविन्दु कार्यक्रम सञ्चालन गर्दै आएको छ । मंसिरमा २ हजार ६ सय ५, पुषमा ३ हजार १ सय ४५, माघमा ३ हजार ७ सय १४, फागुनमा ४ हजार ४ सय १३, चैतमा ४ हजार ५ सय ८८, वैशाखमा ४ हजार ८ सय ३८ र जेठमा सबैभन्दा धेरै ५ हजार ३ सय ५० जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेका छन् ।
कार्यक्रमप्रति अभिभावकहरूको आकर्षण बढ्दै जाँदा सेवाग्राहीको संख्या निरन्तर बढिरहेको प्रमुख बिसीले बताउनुभयो । कार्यक्रम सुरु भएको सातौँ महिनामा अहिलेसम्मकै धेरै भिड लागेको चिकित्सालयले जनाएको छ ।

चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार आज मात्रै २ हजार ६ सय ८१ जना बालिका र २ हजार ६ सय ६९ जना बालक गरी ५ हजार ३ सय ५० जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको हो ।
स्वर्णविन्दु खुवाउन आज बिहान साढे ४ बजेदेखि नै पश्चिम दाङका विभिन्न स्थानबाट अभिभावकहरू बालबालिका लिएर लाइनमा बसेका थिए । स्वर्णविन्दु महिनामा एक पटक मात्रै खुवाइने गरिन्छ ।
अब असार ४ गते पुनः स्वर्णविन्दु खुवाउने कार्यक्रम तय गरिएको डा. न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वर्णविन्दु आयुर्वेदिक खोपका रूपमा प्रयोग गरिन्छ । यसले बालबालिकाको स्मरण शक्ति, एकाग्रता तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने न्यौपानेको भनाई छ ।
















