२०८३ साउन ११ गते सोमवार

राप्ती प्रतिष्ठानमा एक महिनामा ११३ जना मिर्गौला पत्थरीको शल्यक्रिया


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया भएको छ । प्रतिष्ठानको तथ्यांक अनुसार वैशाख १ देखि ३१ गतेसम्मको अवधिमा युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रिया गरिएको हो ।

सोही अवधिमा युरोलोजीतर्फ ५०५ जना विरामीले ओपीडी सेवा पाएको प्रतिष्ठान प्रशासनले जनाएको छ । त्यस्तै युरोलोजी सेवा अन्तर्गत भर्ना गरेर ६१ जना विरामीको उपचार गरिएको छ ।

प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँ नेतृत्वको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी (बाह्य बिरामी विभाग) मार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् ।

यसअघि दाङमा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि विरामीहरुलाई सहज भएको छ ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाबको नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजीष्ट डा. खनियाले जानकारी दिनुभयो । उहाँका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनदिनै बढ्दो क्रममा छ ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउँदै स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू खुसी भएको बताउनुभयो ।

युरोलोजीसहित बिशिष्टिकृत सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतसँग सहकार्य सुरु गरिएको जनाएको छ । सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण रहेको प्रतिष्ठानले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस