दाङ । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा शैक्षिक सत्र २०८३ का लागि सम्पन्न विद्यार्थी नेतृत्व निर्वाचनबाट कक्षा १० का सिद्धान्त पोखरेल स्कुल क्याप्टेनमा निर्वाचित हुनुभएको छ ।
मंगलबार सम्पन्न निर्वाचनमा पोखरेलले ३१९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत नवराज शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सदिक्षा शर्माले २२० मत प्राप्त गर्नुभएको छ । पोखरेल शर्मालाई ९९ मतले पछी पादै विजयी हुनुभएको हो ।

स्कुल भाइस क्याप्टेनमा कक्षा १० का जीवेश ओली २०५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कक्षा ९ का सर्जिना पुनले १४२ र अनुज बिसीले १८३ मत प्राप्त गर्नुभएको छ ।
विद्यालयका चारवटै हाउसका क्याप्टेन तथा भाइस क्याप्टेन पदका लागि पनि निर्वाचन सम्पन्न भएको थियो । रेड हाउस क्याप्टेनमा कक्षा ९ का सुसन गिरी ६० मतसहित विजयी हुनुभयो भने भाइस क्याप्टेनमा कक्षा ८ का किरण भण्डारी ४४ मतसहित निर्वाचित हुनुभएको छ ।
ब्लु हाउस क्याप्टेनमा कक्षा ९ का प्रिन्सा शाही ६१ मतका साथ निर्वाचित हुनुभएको छ भने भाइस क्याप्टेनमा कक्षा ९ का जेनिशा चौधरी ४८ मतसहित विजयी हुनुभएको छ ।
ग्रीन हाउस क्याप्टेनमा कक्षा ९ का स्तुति खनाल ९१ मतसहित निर्वाचित हुनभएको छ । भाइस क्याप्टेनमा कक्षा ९ का प्रजिना पोखरेल ६६ मत प्राप्त गर्दै विजयी हुनुभयो ।
त्यसैगरी ह्वाइट हाउस क्याप्टेनमा कक्षा १० का राजन खत्री ७१ मतसहित निर्वाचित हुनुभएको छ । ह्वाइट हाउस भाइस क्याप्टेनमा कक्षा ९ का दिपेश ओली र कक्षा ८ का प्रसना थापाले समान ४६–४६ मत प्राप्त गरेका थिए । बराबरी भएपछि गरिएको गोलाप्रथाबाट प्रसना थापा विजयी भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
बाल क्लबको अध्यक्षमा कक्षा १० का आयुष खनाल ३६९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कक्षा ९ का सुरज थापाले १४३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा कक्षा ८ का कुमार केसी ३१८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी आरीभ रिजालले १८२ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा कक्षा ९ का पुष्पा केसी ३३४ मतसहित निर्वाचित हुनुभएको छ भने कक्षा १० का शिखा थापाले १६४ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा कक्षा १० का सुप्रिम धिताल ३४६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कक्षा ९ की अपेक्षा भुसालले १६६ मत प्राप्त गर्नुभएको छ।
सदस्य पदमा कक्षा १० का सञ्जय एरीले २८८, कक्षा ९ का भूमिका सुनारले २४४, युवराज खड्काले ३२४, कक्षा ८ का उमङ्ग भुसालले ३४०, रियाज भण्डारीले २८० र झरना ओलीले २२२ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थी मतदाताका रूपमा सहभागी भएका थिए । निर्वाचन अधिकृत शर्माका अनुसार कुल ५ सय ७६ मतदातामध्ये ५ सय ४८ मत खसेको थियो । त्यसमध्ये ४३ मत बदर भएको थियो ।
यसैबिच विद्यालयलले निर्वाचित विद्यार्थीहरूलाई खादा, टीका तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको छ । विद्यालयका प्रधानाध्यापक शिव पुनले नवनिर्वाचित विद्यार्थीहरूलाई खादा, टीका र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले विद्यालयमा सञ्चालन गरिने विद्यार्थी नेतृत्व निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, आत्मविश्वास तथा प्रजातान्त्रिक संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विद्यार्थीहरूमा नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा प्रजातान्त्रिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष निर्वाचन प्रक्रिया सञ्चालन गर्दै आएको प्रधानाध्यापक पुनले जानकारी दिनुभयो । हाल विद्यालयमा १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


















