२०८३ जेष्ठ २३ गते शनिवार

दाङमा रासायनिक विषादीको अत्यधिक प्रयोग : विषादी न्यूनिकरणमा जोड

दाङ । दाङमा कृषि उत्पादनका क्रममा रासायनिक विषादीको प्रयोग अत्यधिक हुने गरेको पाइएको छ। कृषि ज्ञान केन्द्र दाङका कार्यालय प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा प्रति हेक्टर औसत १२ केजीसम्म रासायनिक विषादी प्रयोग हुने गरेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा कृषि क्षेत्रमा बढ्दो रासायनिक विषादीको जथाभावी प्रयोग न्यूनीकरण तथा त्यसका जोखिमबारे कृषकलाई सचेत गराउने उद्देश्यले आयोजित गोष्ठीमा प्रमुख प्रशिक्षकसमेत रहेका भण्डारीले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले खेतमा छरेको विषादी अन्ततः हाम्रो पेटमै पुग्ने भएकाले खेत स्वस्थ भए मात्रै मानिस स्वस्थ रहने भन्दै विषादीको मात्रा, प्रयोग गर्ने समय र विधिमा किसानले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

विषादीले रोग तथा कीरा पूर्ण रूपमा अन्त्य नगरी नियन्त्रण मात्र गर्ने भएकाले यसको सुरक्षित र सन्तुलित प्रयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

गोष्ठीमा भण्डारीले विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, जैविक विकल्प तथा मानव स्वास्थ्य र वातावरणमा पर्ने दीर्घकालीन असरका विषयमा जानकारी गराउनुभएको थियो। रासायनिक विषादीका कारण प्राणघातक रोगहरूका कारण कैयौँले अकालमै ज्यान गुमाउनु परेको छ ।

कार्यक्रममा तुलसीपुर–१३ का कृषक दीपा केसीले सानो परिमाणमा तरकारी खेती गर्दा जैविक विषादी प्रयोग गर्न सहज भए पनि व्यावसायिक तथा ठूलो स्तरको खेतीमा पर्याप्त विकल्पको अभाव रहेको बताउनुभयो । उहाँले राज्यले जैविक विषादी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्दै सहज रूपमा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भट्टे कृषि सहकारी संस्था, तुलसीपुर–३ का अध्यक्ष कर्णबहादुर ओलीले सरकारले सहकार्य गरे सहकारी संस्था जैविक विषादी उत्पादन तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताउनुभयो । उहाँले ५०/५० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

एग्रोभेट व्यवसायी माधव केसीले रासायनिक विषादीको असरबारे प्रत्येक वडामा सचेतनामूलक सूचना बोर्ड राख्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो। उहाँले विषादीको प्रयोग घटाउने मात्र नभई जैविक विषादी उत्पादन गर्ने कारखाना स्थापना गर्नुपर्ने र त्यसको जिम्मेवारी सहकारी संस्थालाई दिन सकिने बताउनुभयो । केसीले उत्पादित जैविक विषादीको बजारीकरणमा व्यवसायीहरू सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अत्यधिक रासायनिक विषादी प्रयोगले माटोको उर्वराशक्ति र गुणस्तरमा नकारात्मक असर परेको उल्लेख गर्दै हामी आफैंले आफ्नै माटोमा रोग र क्यान्सरको जोखिम बढाइरहेको धारणा राख्नुभयो ।

उहाँले रासायनिक विषादीको प्रयोग एकैपटक पूर्ण रूपमा हटाउन सम्भव नभए पनि यसको प्रयोगलाई उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने बताउँदै माटोको उपचार, जैविक खेती प्रवद्र्धन र किसानमुखी कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कृषक, सहकारी संस्थाका प्रतिनिधि, कृषि तथा एग्रोभेट व्यवसायी र अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरूले विषादीको सुरक्षित प्रयोगसम्बन्धी यस्ता सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कृषि समितिका सदस्य हुमकान्त सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृषि शाखा अधिकृत शंकर न्यौपानेले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस