२०८३ जेष्ठ ३० गते शनिवार

तुलसीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा तीन दिने मोटिभेसनल कक्षा


तुलसीपुर । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा तुलसीपुरमा तीन दिने विशेष मोटिभेसनल तथा योग कक्षा सञ्चालन हुने भएको छ।
पतञ्जली योग रोग निवारण साधना केन्द्र दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा असार १ गतेदेखि ३ गतेसम्म अरनिको खुला मैदानमा कार्यक्रम सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

साधना केन्द्रका अध्यक्ष बामदेव धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजीवन सदस्य गोकर्ण प्रसाद गिरीले पतञ्जली योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा मोटिभेसनल स्पिकर ललितशंकर योगीले तीन दिनसम्म दैनिक बिहान ४ बजेदेखि ६ बजेसम्म योग, स्वास्थ्य र जीवन व्यवस्थापनसम्बन्धी उत्प्रेरणामूलक कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यक्रममा करिब दुई हजार पाँच सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बिमल रिजाल, महासचिव केशवराज केसी तथा पतञ्जली योग समिति सोसल मिडिया प्रभारी अरुणकुमार श्रेष्ठले स्वस्थ जीवन नै समृद्ध समाजको आधार भएकाले योगलाई दैनिक जीवनसँग जोड्न आवश्यक रहेको बताउँदै तीन दिने कार्यक्रममा सक्रिय सहभागिताका लागि तुलसीपुरवासीलाई आग्रह गर्नुभयो। कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस