दाङ । जापानमा करिब दुई वर्ष बसेकी तुलसीपुरकी अनु थापा स्वदेश फर्किएर आफ्नै उद्यममा जोडिनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी थापाले जापानको बसाइलाई टुङ्ग्याउँदै तुलसीपुरमा आफ्नै फेन्सी व्यवसाय सुरु गर्नुभएको हो ।

थापाले तुलसीपुरको व्यस्त बजार ’ख’ लाइनमा ‘कास कलेक्सन’ सञ्चालनमा ल्याउनुभएको छ । २०८० सालमा जापान जानुभएकी उहाँ त्यहाँ करिब २ वर्ष बसेर फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसायमा होमिनुभएको हो ।
उक्त कलेक्सनको मंगलबार अनुका बुवा टोपबहादुर थापा र आमा कमला थापाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । बुवा–आमाको काखमा रमाउँदै स्वदेशमै व्यवसाय सुरु गर्न पाउँदा निकै खुसी लागेको सञ्चालक थापाले बताउनुभयो ।
विदेशको कमाइ र अनुभवलाई आफ्नै ठाउँमा लगानी गर्दा आफू स्वरोजगार बनेको र आफ्नै बहिनी अनिता थापालाई समेत रोजगारी दिन सफल भएको उहाँले बताउनुभयो ।
‘कास कलेक्सन’मा महिलाहरूका लागि गुणस्तरीय र आधुनिक डिजाइनका लेडिज फेन्सी कपडाहरू उपलब्ध रहने सञ्चालक थापाले जानकारी दिनुभयो । पछिल्लो समय युवाहरू विदेशिने क्रम बढिरहेका बेला जापान जस्तो विकसित मुलुक छोडेर स्वदेशमै व्यवसाय सुरु गरेकी अनु धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।

















