दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय किसानलाई जैविक (अर्गानिक) खेतीतर्फ आकर्षित गर्न किसानलाई तालिम संचालन गरेको छ । संस्थाले तुलसीपुर–३, राम्रीका किसानलाई लक्षित गरी आयोजना गरेको ‘जैविक खेती उत्पादन सम्बन्धी तालिम’ बिहीबार समापन गरिएको हो ।

गत वर्षको माघ २९ गतेदेखि सुरु भएको तालिममा किसानहरूलाई जैविक बिरुवा उत्पादन गर्नेदेखि जैविक विषादी बनाउने तरिका, प्राङ्गारिक मलको प्रयोग र दिगो जैविक उत्पादनका विविध पक्षबारे प्रशिक्षण गरिएको हो ।
तालिममा राम्रीका १५ जना किसानको सामूहिक सहभागिता रहेको थियो । कृषि विज्ञद्वय रुद्रमणी पौडेल र सरस्वती सुवेदीले किसानहरूलाई प्रयोगात्मक रूपमा जैविक तरकारी खेतीबारे सिकाउनुभएको हो ।
तालिमकै क्रममा किसानहरूले रासायनिक विषादीको प्रयोग बिना नै व्यावसायिक रूपमा टमाटर, सिमी र करेला उत्पादन गरेर बिक्रि गरिसकेका छन् । तालिमपछि किसानहरू रामकली घर्ती, चुडामनी सापकोटा र बिमला खड्काले तालिमले जैविक खेती आफैं गर्न सक्ने प्राविधिक क्षमता र आत्मविश्वास बढाएको बताउनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले तुलसीपुरको राम्री क्षेत्रलाई ’जैविक खेतीको हब’का रूपमा विकास गर्ने संस्थाको योजना रहेको बताउनुभयो । उहाँले राम्रीमा उत्पादित जैविक तरकारी तथा फलफूललाई संस्थाले निकट भविष्यमै आफ्नै ‘हाम्रो पहुँच मार्ट’ मार्फत उपभोक्तामाझ पुर्याउने बताउनुभयो ।
यस्तै जैविक मलको अभाव हुन नदिन र दुध उत्पादनतर्फ किसानहरूलाई प्रोत्साहन गर्न भैंसीपालन गर्नका लागि संस्थाले आवश्यक कर्जा सहयोग उपलब्ध गराउने घोषणा समेत अध्यक्ष भण्डारीले गर्नुभयो ।
संस्थाको कृषि तथा मार्ट उपसमितिका संयोजक जिबराज अधिकारीको अध्यक्षता तथा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएको हो । समापन कार्यक्रममा जैविक खेतीमा सक्रियरुपमा सहभागीता जनाउने किसानलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कृषि तथा मार्ट उपसमितिका सदस्य यज्ञ बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीले गर्नुभएको हो ।

















