२०८३ असार १२ गते शुक्रवार

राजस्व संकलनमा आक्रामक बन्दै तुलसीपुर : दर्ता बिनै सञ्चालित व्यवसायलाई ठाउँको ठाउँ कानुनी दायरामा ल्याइँदै

दाङ । चालु आर्थिक वर्षको लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि तुलसीपुर उपमहानगरपालिकाले राजस्व वृद्धिका लागि ‘घरदैलो अभियान’ सुरु गरेको छ ।

नगरभित्र सञ्चालित तर दर्ता प्रक्रियामा नआएका व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने उद्देश्यले पालिकाले यो अभियान थालेको हो ।

शुक्रबारदेखि सुरु भएको अभियानमा उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा, राजस्व शाखा र उद्योग शाखाको संयुक्त टोलीले बजार अनुगमन र घरदैलो सुरु गरेको छ ।

अभियानको पहिलो दिन आज तुलसीपुरको ‘ग’ लाइनमा रहेका ६१ वटा व्यवसायबाट करिब १ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । संकलित रकममा व्यवसाय दर्ता, नवीकरण र सरसफाई कर समावेश रहेको राजस्व शाखाले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश व्यावसायिक फर्महरू दर्ता बिनै सञ्चालनमा रहेको र दर्ता भएकाहरूले पनि समयमै नवीकरण नगरेको भेटिएको छ । उपभोक्ता हित संरक्षण शाखाका प्रमुख राजु श्रेष्ठले दर्ता प्रक्रियामा नआएका व्यवसायीहरूलाई तीन दिनभित्र अनिवार्य दर्ता प्रक्रियामा आउन निर्देशन दिएको बताउनुभयो ।

लामो समयदेखि दर्ता प्रक्रियामा नआएका व्यवसायीलाई लक्षित गर्दै उपमहानगरपालिकाले विशेष सहजीकरण समेत गरेको छ । उद्योग शाखा प्रमुख रेखा शर्माका अनुसार, चालु आर्थिक वर्षको असार मसान्तसम्म दर्ता प्रक्रियामा आउने व्यवसायीहरूले पछिल्लो तीन वर्षको मात्र राजस्व शुल्क बुझाए पुग्ने व्यवस्था गरिएको छ ।

कतिपय व्यवसायीले व्यवसाय बन्द गरिसके पनि दर्ता खारेजी नगरेको पाइएकाले त्यस्ता व्यवसायीलाई समयमै जानकारी गराउन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

राजस्व शाखा प्रमुख कर्ण बहादुर हमालले राजस्व संकलनसँगै व्यवसायीहरूलाई कानुनी प्रक्रियाबारे सचेत गराउनु नै अभियानको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले पसल दर्ता गरेर नविकरण नगरेमा वक्यौता रकम बढ्दै जाने भएकाले दर्ता र नविकरण प्रक्रियामा आउन व्यवसायीलाई आग्रह गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस