२०८३ साउन ११ गते सोमवार

लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु


दाङ, १४ असार । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । आज आइतबार वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो ।

त्यसका लागि प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको छ भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ । साथै सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने जनाइएको छ । अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका–२ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाले हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेको बताउनुभयो ।

वन संरक्षण आयआर्जनको महत्त्वपूर्ण माध्यमसमेत बनेको उल्लेख गर्दै उहाले जडीबुटी, काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताउनुभयो । वन क्षेत्रबाट प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउने चेतावनी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपण अभियानमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।

लमही नगरपालिकाका कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने बताउनुभयो । त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षारोपण सफल बनाउन वन क्षेत्रमा चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसालका अनुसार महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा यसअघि ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस