२०८३ साउन ११ गते सोमवार

अब लाइन नकाटी विद्युत मर्मत सम्भार हुने


दाङ, १४ असार । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । नेपाल विद्युत् प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

उपभोक्ताहरूलाई अवरोध बिना गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आइतबारबाट चालु अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो ।

विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेगरी नमुना कार्यको रुपमा सुरुवात भएको उहाको भनाइ छ ।

नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिनुभयो ।

भविष्यमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरि मर्मत सम्भार कार्यको प्रयोग गरी लाइन मर्मत सम्भार गर्न सकेको खण्डमा मर्मत कार्यमा गर्नुपर्ने अनिवार्य लाइन कटौतीमा कमी आई उपभोक्ताहरुले नियमित र थप भरपर्दो विद्युत सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस