दाङ। दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको छ ।
आज आइतबार बचत तथा ऋण विभागको आयोजनामा तालिम प्रदान गरिएकोे हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले तालिममा सहभागीहरूलाई आम्दानी, खर्च व्यवस्थापन, बचत र लगानीका विषयमा प्रशिक्षण गर्नु भएको हो ।
सदस्यहरुलाई आर्थिक रुपमा कसरी सक्षम हुने, बचत व्यवस्थापन, बचतका फाईदा, ऋण व्यवस्थापन र लगानी रणनीतिहरूका बारेमा जानकारी गराउनुभयो । उहाँले आम्दानीका स्रोत विस्तार, अनावश्यक खर्च नियन्त्रण र नियमित बचतको बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले स्वरोजगारी सिर्जना, साना तथा घरेलु उद्यम सञ्चालन, कृषि तथा व्यवसायिक क्षेत्रमार्फत आम्दानी बढाउन सकिने बताउनुभयो ।
साथै सहकारीमार्फत उपलब्ध हुने ऋण सुविधालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले आर्थिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने पनि बताउनुभयो ।
तालिमको सहजिकरण संस्थाका वचत तथा ऋण विभागका विभागिय प्रमुख रेखा शर्माले गर्नुभएको हो । तालिममा १ सय जना शेयर सदस्य उपस्थित भएका थिए । सहकारीमा अहिले ५ हजार तीनसय बढी शेयर सदस्य आवद्ध छन् भने १२० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।



















