२०८३ साउन ११ गते सोमवार

वन वातावरण र जलवायु संकटबारे सरोकारवालाको चासो

दाङ । तुलसीपुरमा वन, वातावरण र बढ्दो जलवायु संकटका सवालमा पत्रकारहरुसंग अन्तर्क्रिया गरिएको छ । तुलसीपुर मिडिया प्रालिको आयोजना तथा लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा आइतबार कार्यक्रम सञ्चालन गरिएको हो ।

त्यस अवसरमा डिभिजन वन कार्यालय दाङले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा कार्यालयका सिनियर डिभिजनल वन अधिकृत वेसिन्द्रराज सुवेदीले तेस्रो त्रैमाससम्म ६० दशमलव ८३ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिनुभयो ।

कार्यालयको कुल १ अर्ब ३० करोड ११ लाख रुपैयाँ बजेटमध्ये यस अवधिमा ६० करोड २८ लाख रुपैयाँ खर्च भएको छ । यसैगरी, सामुदायिक वन र निजी आवादीबाट गरी संकलन भएको राजस्व र जडीबुटी निकासीबाट प्रदेश सञ्चित कोषमा उल्लेख्य राजस्व जम्मा भएको प्रतिवेदनमा जनाइएको छ । वन व्यवस्थापन र नर्सरी कार्यक्रममार्फत ४ हजार ५ सय ७० श्रमदिन बराबरको रोजगारी समेत सिर्जना भएको डिभिजनल वन अधिकृत सुवेदीले बताउनुभयो ।

कर्मचारीको अभाव, सब–डिभिजन कार्यालयहरु भाडामा सञ्चालन गर्नुपरेको अवस्था र स्पष्ट निर्देशिका नहुँदा कार्यसम्पादनमा केही चुनौती थपिएको कार्यालयले जनाएको छ ।

यसैबीच, सोही कार्यक्रममा ‘जलवायु संकट र रिपोर्टिङ’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार गजेन्द्र बोहराले नेपाल जलवायु परिवर्तनको प्रभाव भोग्ने मुलुकहरूमध्ये विश्वमै चौथो स्थानमा रहेको उल्लेख गर्नुभयो । दाङमा बेमौसमी वर्षा, अत्यधिक गर्मी र भूमिगत पानीको सतह सुक्दै जानुले जनजीवनमा गम्भीर असर पारेको कार्यपत्रमा औंल्याइएको छ ।

प्रालिका अध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतका स्थानीय सञ्चारकर्मीहरुले वन र वातावरण संरक्षणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस