२०८३ साउन १० गते आइतवार

भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना

दाङ । दाङसहित देशका अधिकांश ठाउँमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक, दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले सूचना निकालेर अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला/नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ । भोलि र पर्सि मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित ठूलो वर्षा तथा एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित ठाउँमा जान तथा तीनवटै सुरक्षा निकाय, पालिका, स्वयंसेवकलगायतका सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस