दाङ, १५ असार । दाङको तुलसीपुरमा अवस्थित गोरखा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले धान रोपेर २३ औँ राष्ट्रिय धान दिवस मनाएका छन् । किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई कृषि र श्रमको व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले धान रोपाई कार्यक्रमको आयोजना गरेको हो ।
विद्यार्थीहरूलाई धान रोप्ने र खेतीपाती गर्ने प्रक्रियाबारे स्थलगत रूपमै जानकारी गराउनका लागि दंगीशरण गाउँपालिका वडा नं. २, सरुवाडाँडास्थित खेतमा लगिएको विद्यालयका प्रधानाध्यापक रबिन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयका शिक्षक र विद्यार्थीहरू सामूहिक रूपमा खेतमा ओर्लिएर हिलो खेल्दै, असारे गीत गाउँदै धान रोपेका थिए । पछिल्लो समय प्रविधिको प्रयोग बढे पनि परम्परागत कृषि प्रणाली र खाद्य सुरक्षाको महत्त्व बुझाउन विद्यालयले रोपाइ कार्यक्रम गरेको हो ।













