दाङ । पाँच वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका तुलसीपुर–१ भमकेका २७ वर्षीय प्रदिप बस्याल फेरि विदेश जाने कि नेपालमै केही गर्ने भन्ने अन्योलमा थिए । यहि बिच तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको ९६ घण्टे हाउस वायरिङ तालिमको सूचना पाएपछि उनले सहभागी हुने निर्णय गरे । आज भने उनी ढुक्क छन् । सीप रहे जहाँ गए पनि रोजगारीको ढोका खुल्ने रहेछ ।
गत फागुनमा कतारबाट फर्किएका बस्यालका लागि यो तालिम जीवनको नयाँ मोड बनेको छ । “पहिले त सामान्य विद्युत् मर्मत पनि गर्न सक्दिनथेँ। अहिले घरको वायरिङ, जडान र मर्मत आफैं गर्न सक्छु । पहिले नै यस्तो सीप सिकेको भए हुन्थ्यो भन्ने लाग्छ,“ उनले भने । अब डिप्लोमा तहसम्म अध्ययन गरेर विद्युत् क्षेत्रमा अझ दक्ष बन्ने योजना उनले बनाएका छन् ।
बस्याल मात्र होइन, तालिममा सहभागी भएका अधिकांश युवाको सोच परिवर्तन भएको छ । उनीहरूले सीपलाई रोजगारी र आत्मनिर्भरताको आधारका रूपमा लिन थालेका छन् ।
तुलसीपुर–७ की १८ वर्षीया टिका डाँगी तालिमकी एकमात्र महिला सहभागी हुन् । राप्ती बबई क्याम्पसमा व्यवस्थापन संकाय अध्ययनरत उनलाई हाउस वायरिङ सिक्ने तीव्र इच्छा थियो। अवसर पाएलगत्तै उनी तालिममा सहभागी भइन् ।
“पहिले यस्तो सीप सिक्ने अवसर नै मिलेको थिएन। अहिले पाइप राख्ने, वायरिङ गर्ने, बत्ती जडानदेखि मर्मतसम्मका काम सिकेँ । अब डिप्लोमा गरेर यही क्षेत्रमा व्यवसाय गर्ने सोच बनाएकी छु,“ उनले उत्साहका साथ सुनाइन् ।
तुलसीपुर–१५ कन्जुवारका १७ वर्षीय सुवास बुढाथोकी पनि तालिमबाट निकै उत्साहित छन्। विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत उनले घरमा सामान्य विद्युत् समस्या हुँदा पनि मिस्त्री बोलाउनु पर्ने अवस्था अब अन्त्य भएको बताए । “अब सामान्य मर्मत आफैं गर्न सक्छु। खर्च पनि बच्ने भयो। आधारभूत सीप सबैसँग हुनुपर्छ भन्ने महसुस भयो,“ उनले भने ।
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालित ९६ घण्टे हाउस वायरिङ तालिम छोटो अवधिको भए पनि सहभागीका लागि व्यवहारिक र जीवन उपयोगी बनेको सहभागीले बताएका छन् ।
तालिमपछि सबै प्रशिक्षार्थीलाई आवश्यक औजारसमेत उपलब्ध गराइएको छ।सोही तालिम बुधबार एक कार्यक्रमका बीच समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अम्बिका पौडेलले युवालाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
स्थानीय सरकारले युवालाई आत्मनिर्भर र व्यवसायिक बनाउन निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो । वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले सीपमूलक तालिमले युवालाई रोजगारीसँग जोड्ने प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले राज्यले तालिम धेरै दिने तर उपलब्धि कम हुने आरोप खेपिरहेको अवस्थामा यो तालिम समयसापेक्ष र परिणाममुखी बनेको बताउनुभयो । वर्तमान शिक्षा प्रणालीले दैनिक जीवनका व्यवहारिक सीप पर्याप्त नदिएको उल्लेख गर्दै उहाँले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख टिकाराम खड्काले “सीप नै सबैभन्दा ठूलो सम्पत्ति“ भएको बताउनुभयो । जीवनमा करोडौं रुपैयाँ भए पनि जोगिन नसक्ने, तर सीप कहिल्यै नहराउने सम्पत्ति भएकाले सीप भएको व्यक्ति कहिल्यै गरिब नहुने बताउनुभयो । इच्छाशक्ति भए सीपले जीवन परिवर्तन गर्न सक्ने उहाँको विश्वास थियो ।
तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता, नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथ्यता एवम् प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट अतिथ्यतामा तालिमको समापन गरिएको हो । तालिम समापन कार्यक्रमको सहजीकरण संस्थाका सदस्य केवी ओलीले गर्नुभएको थियो ।













