दाङ । तुलसीपुर उपमहानगरपालिकाले आठ वर्षमा १ सय ५४ कानुन निर्माण गरेको छ । उपमहानगरपालिकाको विधायन समितिका संयोजक भीमबहादुर कँवर योगीका अनुसार १ सय ५४ वटा विभिन्न कानुन निर्माण भई कार्यान्वयनमा छन् ।
संयोजक योगीले २०७५ सालदेखि हालसम्म ४१ वटा ऐन, ८९ वटा कार्यविधि, ४ वटा निर्देशिका, ५ वटा नियमावली, ९ वटा मापदण्ड, एउटा नीति, एउटा रणनीति, ३ वटा कार्ययोजना र एउटा मार्गदर्शन गरी कुल १ सय ५४ वटा कानुन निर्माण भई कार्यान्वयनमा रहेको बताउनुभयो ।
उपमहानगरपालिकाले पछिल्ला आठ वर्षमा १ सय ५४ वटा विभिन्न कानुन निर्माण गरी स्थानीय शासनलाई संस्थागत बनाउने दिशामा जोड दिएको हो । नगरले चालु आर्थिक वर्षमा मात्रै ६ वटा महत्वपूर्ण कानुन पारित गरेको छ ।
डुंगा दर्ता, व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०८२, पशु सेवा शाखाको कार्यक्रम सञ्चालन मापदण्ड–२०८२, घरबहाल कर व्यवस्थापन कार्यविधि–२०८२, लागत साझेदारी आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२, उपभोक्ता समिति गठन तथा सञ्चालन कार्यविधि–२०८२ तथा वारुणयन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०८२ कार्यान्वयनमा आइसकेका छन् ।
कानुन निर्माणसँगै तिनको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै चुनौतीपूर्ण हुने भएकाले अब उपमहानगरपालिकाले कार्यान्वयन पक्षलाई थप बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
कतिपय कानुन निर्माण भइसके पनि कार्यान्वयन गर्न नसकिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो । ‘भूमि भाडामा दिनेसम्बन्धीको कार्यविधि २०७७ सालमा नै निर्माण भएको हो । तर अहिलेसम्म कार्यान्वयन गर्न नसकिएको प्रमुख खड्काले बताउनुभयो ।

























