शान्तिनगर । दाङको शान्तिनगर गाउँपालिकाले कृषि क्षेत्रको रूपान्तरण र आधुनिकीकरणका लागि कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषियन्त्र वितरण गरेको छ ।
पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १६५ जना कृषकहरूलाई आधुनिक कृषियन्त्र वितरण गरेको हो । गाउँपालिकाले इबिडिङ (टेन्डर) प्रणालीमार्फत पारदर्शी रूपमा खरिद गरी करिब ६० लाख रुपैयाँ बराबरको बजेट लागतका सामग्रीहरू कृषकहरूलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष बस्नेतको अध्यक्षता एवं उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको प्रमुख आतिथ्यतामा कृषियन्त्र वितरण कार्यक्रम गरिएको हो ।
वडा नं. ६ का अध्यक्ष शेर बहादुर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक केशव केसीले गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द, सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कृषि शाखा एवं हेफर प्रोजेक्टका कर्मचारीहरू र कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
खेतीपातीमा लाग्ने समय, शारीरिक श्रम र उत्पादन लागत घटाई समग्र उत्पादकत्व बढाउने, वैदेशिक रोजगारीका कारण गाउँघरमा देखिएको कृषि मजदुरको अभावलाई प्रविधिमार्फत पूर्ति गर्ने र युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाले यो कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख सुप्रभा भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वीकृत प्रक्रियामार्फत खरिद गरिएका ४५ थान कम्बाइन राइस मिल, ३९ थान मिनिटिलर, ३५ थान इलेक्ट्रिक कर्न थ्रेसर, २५ थान ज्याब सिड प्लान्टर र २१ थान इलेक्ट्रिक च्याफकटर वितरण गरिएको हो ।
५० प्रतिशत अनुदानमा आधुनिक औजारहरू पाएपछि स्थानीय कृषकहरू निकै उत्साहित भएका छन् ।













