दाङ । खेतीपातीको मुख्य समयमा पनि किसानले पर्याप्त रासायनिक मल नपाउने समस्या यस वर्ष पनि दोहोरिएको छ । हरेक वर्षझैँ यसपटक पनि मल खरिदका लागि किसानले लामो लाइन बस्नुपर्ने र अधिकांश किसान रित्तै फर्किनुपर्ने अवस्था रहेको छ ।
मल पाउने किसानले पनि आवश्यकभन्दा निकै कम परिमाणमा चित्त बुझाउन बाध्य भएका छन् । तुलसीपुर–७ गणेशपुरका किसान नुमा डिसीले ५० केजी डीएपी मल आवश्यक भए पनि पर्याप्त मल नपाएको बताउनुभयो । मल व्यवस्थापन गर्ने निकायको बेवास्ताका कारण किसानले वर्षेनि सास्ती खेप्नुपरेको उहाँको गुनासो छ ।
यस्तै, तुलसीपुर–७ की ६५ वर्षीया सरस्वती श्रेष्ठले १४ कट्ठा खेतका लागि मल आवश्यक भए पनि १० केजी मात्रै प्राप्त भएको बताउँदै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
अर्का किसान कुलप्रसाद कालाथोकीले २६ कट्ठा खेतका लागि १० केजी डीएपी मल मात्रै पाएको बताउनुभयो । पर्याप्त मल नहुँदा खेती उत्पादन प्रभावित हुने चिन्ता रहेको उहाँको भनाइ छ । गोदाममा मल भए पनि सहकारीलाई पर्याप्त वितरण नभएको उहाँको आरोप छ ।

मल अभावका कारण वितरण गर्ने सहकारी संस्थाहरू पनि समस्यामा परेका छन् । तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थालाई एक सिजनमा करिब तीन हजार बोरा मल आवश्यक पर्ने भए पनि यसपटक ४७ बोरा मात्रै प्राप्त भएको छ ।
सहकारीले अहिले प्रतिकिसान १० केजीका दरले मात्रै मल वितरण गर्नुपरेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । उहाँले मल वितरण प्रणालीलाई राज्यले गम्भीरतापूर्वक व्यवस्थापन गर्न नसकेको टिप्पणी गर्नुभयो ।
यसैबीच, तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले मल व्यवस्थापनको विषयमा सम्बन्धित कर्मचारीहरू बढी जानकार रहेको प्रतिक्रिया दिनुभयो ।
लुम्बिनी प्रदेशका रासायनिक मल फोकल पर्सन अनिष श्रेष्ठले भने मागअनुसार मल आपूर्ति हुन नसक्दा समस्या भएको स्वीकार गर्नुभयो । उहाँका अनुसार असारको अन्तिम सातासम्म थप मल जिल्लामा आइपुग्ने र साउनको पहिलो साताभित्र किसानले पर्याप्त मल पाउने अपेक्षा गरिएको छ ।



















