दाङ। घोराही उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरका कारण महिलाको स्वास्थ्यमा सुधार आएको छ । उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा सञ्चालन गरिएका शिविर तथा संस्थागत परिवार नियोजन क्लिनिकमार्फत १६ हजार ७ सय ४१ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा ४ सय ८८ महिलामा क्यान्सरको शङ्कास्पद लक्षण फेला परेको र समयमै उपचारका लागि रिफर गरिएकाले धेरै महिलाको ज्यान जोगिएको शाखाले जनाएको छ । जसले गर्दा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युमा कमी आएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको अभियान अन्तर्गत गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख राधा पौडेलका अनुसार समयमै रोग पहिचान हुँदा उपचार खर्च कम हुने र निको हुने सम्भावना पनि धेरै रहने भएकाले महिलामा स्वास्थ्य परीक्षणप्रति चेतना बढेको छ ।
हाल घोराहीका १९ वडामा शिविर सञ्चालन हुनुका साथै हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र प्रत्येक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्य चौकीबाट पनि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण हुँदै आएको छ । गम्भीर अवस्था देखिएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा पठाइने गरिएको छ ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा समयमै रोग पत्ता लगाउने उद्देश्यले अभियान सुरु गरिएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।



















