दाङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठानलगायत जिल्लाको विद्युतको अवस्थाबारे जानकारी लिनु भएको छ ।
पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगन्ज पुग्नुभएका मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत आपूर्ति तथा वितरणको बारेमा जानकारी लिदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ ।
डिभिजन कार्यालय प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा नेपालगन्ज वितरण केन्द्र प्रमुखबाट जानकारी लिएपछि उहाँले यस क्षेत्रमा धेरै पुराना संरचनामार्फत विद्युत वितरण भइरहेका कारण विद्युत् आपूर्तिमा पटक–पटक समस्या दोहोरिने गरेको पाइएको बताउँदै आगामी आर्थिक वर्षमै वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले वितरण प्रणालीमा लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको उल्लेख गर्दै सातौँ विद्युतीकरण आयोजना अन्तर्गत सन् १९९० पछि वितरण सञ्जालमा उल्लेखनीय सुधार हुन नसकेको बताउनुभयो ।
उहाँले विद्युत मागको वार्षिक रूपमा करिब १५ प्रतिशतका दरले बढिरहेको हुदा पुरानो संरचनाबाट बढ्दो लोड व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताउनुभयो । फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा पुराना वितरण संरचनाका कारण उपभोक्ताले अपेक्षा गरेअनुसारको सेवा दिन नसकिएको उहाँले बताउनुभयो ।
उहाँले वितरण सञ्जालको क्षमता अभिवृद्धि, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर विस्तार तथा लोड व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।


















