२०८३ साउन १ गते शुक्रवार

बिजौरी हुँदै रोल्पाको होलेरीसम्म सवारी सञ्चालनको अनुमति


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–बिजौरी हुँदै रोल्पाको रुन्टीगढी गाउँपालिका–होलेरी सडकमा सवारीसाधन सञ्चालनका लागि अनुमति प्रदान गरिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको असार १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त सडकमा सवारीसाधन सञ्चालनका लागि अनुमति दिइएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले रोल्पाको दक्षिणी क्षेत्रसँग जोड्ने सबैभन्दा छोटो र सहज मार्ग बिजौरी–दहवन सडक सञ्चालनका लागि मन्त्रालयमा पहल गरिएको र सोहीअनुसार अस्थायी रुपमा अनुमति प्राप्त भएको बताउनुभयो ।

उहाले नियमित सवारी सञ्चालन सुरु भएपछि तुलसीपुर र बिजौरी बजारको व्यापार–व्यवसाय प्रवद्र्धन हुनुका साथै रोल्पाको दक्षिणी क्षेत्रबाट उत्पादन हुने फलफूल तथा तरकारीको बजारीकरणमा समेत सहजता आउने बताउनुभयो ।

बिजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काका अनुसार यो सडक सञ्चालनमा आएपछि पश्चिम दाङ, बाँके, बर्दिया र सल्यानबाट प्युठानको स्वर्गद्वारी पुग्न पनि यात्रा सहज हुनेछ ।

यसले यस क्षेत्रको व्यापारिक तथा पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । उहाका अनुसार बिजौरीदेखि रोल्पाको होलेरीसम्म २९ किलोमिटर तथा स्वर्गद्वारीसम्म करिब ५५ किलोमिटर दूरी रहेको छ ।

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले आगामी भदौदेखि तुलसीपुर–बिजौरी–होलेरी रुटमा दैनिक बस सेवा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । प्रदेश सरकारले अनुमति दिएसँगै यात्रुको सुविधाका लागि दैनिक दुईवटा बस नियमित रूपमा सञ्चालन गरिने बताउनुभयो ।

हाल रोल्पाको होलेरी बजारदेखि दाङको सीमा सुन्दरखोलासम्म करिब चार किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने केही खण्ड कच्ची रहेको छ । यस्तै, सुन्दरखोलादेखि बिजौरीसम्मको करिब १० किलोमिटर सडकमध्ये पाँच किलोमिटर कालोपत्रे र बाँकी भाग कच्ची रहेको छ । सडक स्तरोन्नतिसँगै यस मार्गमा यातायात सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस