२०८३ साउन १ गते शुक्रवार

तुलसीपुरको प्राथमिकतामा कृषि र पशुपालन


दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि र पशुपालन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा प्राथमिकतामा राखेको छ । नगरपालिकाले कृषि विकासका लागि ३ करोड रुपैयाँ र पशु सेवातर्फ २ करोड रुपैयाँ विनियोजन गर्दै उत्पादन वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा किसानको आयआर्जन बढाउने लक्ष्य लिएको छ ।

कृषि विकास शाखा प्रमुख कुलराज चौधरीका अनुसार परम्परागत खेतीलाई आधुनिक र व्यवसायिक बनाउने उद्देश्यले घरबारी बगैंचा, उन्नत बीउ वितरण, चैते धान प्रवद्र्धन, प्राङ्गारिक कृषि, साना कृषि यन्त्रमा अनुदान तथा कस्टम हायरिङ सेन्टर स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

नीति तथा कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल, प्लास्टिक मल्चिङ, फलफूल बगैंचा विस्तार, कृषि बीमा, सिँचाइ सुविधा विस्तार, कृषि हाटबजार सुदृढीकरण, गड्यौला मल उत्पादन तथा करार खेतीका कार्यक्रम सञ्चालन गरिने भएका छन् । भूमिहीन, मुक्त कमैया–कमलरी, द्वन्द्वपीडित, दलित तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी समावेशी कृषि कार्यक्रम पनि अघि बढाइने चौधरीले बताउनुभयो ।

पशुपालन क्षेत्रलाई थप उत्पादनशील र व्यवस्थित बनाउन औषधि तथा उपचार सामग्री, सुत्केरी पशुका लागि पोषण किट, निःशुल्क खोप अभियान, रेबिज नियन्त्रण, ५० प्रतिशत अनुदानमा घाँसको बीउ वितरण, कृषि यन्त्र उपलब्ध गराउने तथा बिरामी पशु ओसार्न मेसिन खरिद गर्ने कार्यक्रम समावेश गरिएको पशु सेवा शाखा प्रमुख डा. मनोज वलीले बताउनुभयो ।

उहाका अनुसार गत आर्थिक वर्षमा पशु सेवातर्फ १ करोड रुपैयाँ बजेट रहेकामा आगामी वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । नयाँ कार्यक्रमअन्तर्गत साँढे, राँगा तथा बोका–बाख्रा अकालमा मरेमा निःशुल्क बीमा, साइलेज निर्माणमा अनुदान तथा किसान र प्राविधिकबीच प्रत्यक्ष संवादका लागि ‘कफी मिट’ कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर प्रमुख टीकाराम खड्काले कृषि तथा पशुपालनका कार्यक्रमले उत्पादन वृद्धि मात्र नभई किसानको लागत घटाउने, जोखिम न्यूनीकरण गर्ने, कृषि बीमाको पहुँच विस्तार गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउने तथा उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने उद्देश्य लिएको बताउनुभयो ।

उहाका अनुसार किसानलाई उत्पादनमा आधारित अनुदान, सिँचाइ विस्तार तथा बजार व्यवस्थापनका कार्यक्रमसँगै सुरक्षित कृषि उत्पादन सुनिश्चित गर्न विषादी परीक्षण प्रयोगशाला निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

नगरपालिकाले कृषि र पशुपालन शाखामा प्रत्यक्ष ५ करोड रुपैयाँ विनियोजन गरे पनि सिँचाइलगायत अन्य सम्बन्धित योजनासहित साढे ६ करोड रुपैयाँभन्दा बढी बजेट यस क्षेत्रमा खर्च गर्ने जनाएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई उत्पादन वृद्धि, आत्मनिर्भरता र किसानमैत्री विकासको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस