घोराही–तुलसीपुर सडकखण्डको छेउमै पर्छ हेमन्तपुर । यही गाउँको एउटा कुनामा छ– चिटिक्क परेको सानो घर । अनि, त्यही घरको आडैमा छ एउटा सफल उद्यमको कथा ।
उमेरले पाँच दशक पार गरिसके पनि उहाँको जाँगर र उत्साह कुनै ऊर्जावान् युवाको भन्दा कम छैन । उहाँ हुनुहुन्छ मधुमाया जिसी ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ हेमन्तपुर निवासी मधुमायाको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ र राती १० बजे मात्रै टुङ्गिन्छ । ६९ वर्षका श्रीमानको बलियो साथ र आफ्नै अटुट मेहनतका कारण आज उहाँ यस क्षेत्रकै एक उदाहरणीय उद्यमी बन्नुभएको छ ।

हुन त मधुमायाको पुख्र्यौली घर दाङ होइन । गोरखाको भूगोलबाट उहाँहरू २०५५ सालमा दाङ बसाइँ सर्नुभएको थियो अनि वि.सं. २०६२ सालमा मात्र २ वटा बंगुरबाट यो व्यवसाय सुरु भएको हो ।
आजभन्दा दुई दशकअघि समाजको सोच र दृष्टिकोण फरक थियो । बंगुर पालन गर्दा छिमेकी वा समाजले के भन्लान् । जिस्क्याउलान् वा खिसिटिउरी गर्लान् भन्ने डर र संकोच नभएको होइन । तर, मधुमायाको मनमा एउटै दृढ संकल्प थियो– काम कहिल्यै सानो वा ठूलो हुँदैन । यही प्रगतिशील सोचले उहाँलाई कसैको कुराको प्रवाह नगरी अघि बढ्ने आँट दियो ।

विगत २० वर्षदेखिको निरन्तरता र मेहनतले आज यो फमलाई ठूलो रूप दिएको छ । सुरुमा २ वटा बंगुरबाट सुरु भएको फममा अहिले ४५ भन्दा बढी बंगुरहरू छन् । जहाँ बदिया बंगुरदेखि उन्नत जातका माउ बंगुरहरू छन् ।
मधुमायाका अनुसार बदिया बंगुर बेच्नुभन्दा पाठापाठी बेच्दा बढी फाइदा हुन्छ ।
एउटा माउ बंगुरले वर्षमा तीन पटकसम्म पाठापाठी जन्माउने गर्छ । ती पाठापाठीहरू मात्र ४० दिनभित्रै बिक्रीका लागि तयार हुन्छन् । उत्पादित बंगुर र पाठापाठी बेच्न बजारको कुनै समस्या छैन । एउटै ठूलो बंगुर १ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ । यो व्यवसायबाट उहाँले मासिक ४५ हजार रुपैयाँभन्दा बढी र वार्षिक झण्डै ७ लाख रुपैयाँसम्म खुद आम्दानी गरिरहनुभएको छ ।
कुनै पनि व्यवसायमा सधैँ नाफा मात्र हुँदैन, उतारचढाव र चुनौतीहरू पनि आउँछन् । मधुमायाले पनि आफ्नो व्यावसायिक यात्रामा धेरै नमिठा र कष्टकर दिनहरू भोग्नुभएको छ । रोगव्याधिको प्रकोप र बंगुर बिरामी हुँदाको पीडा उहाँले नजिकबाट सहनुभएको छ । तर, उहाँ हार मान्ने महिला होइन ।
सबै कुरा सरकारले नै गरिदेओस् भन्ने उनको चाहना छैन । तर, संकटका बेला स्थानीय वडा कार्यालय र पशु सेवा शाखाबाट पाएको प्राविधिक सहयोग, सल्लाह र हौसलाले उहाँलाई व्यवसायमा टिकिरहन र थप ऊर्जाका साथ अघि बढ्न ठूलो मद्दत पुगेको छ ।
नेपालमै बसेर केही गर्न चाहने र विदेश पलायन हुन खोज्ने युवा पुस्ताका लागि ५१ वर्षकी मधुमाया जिसी प्रेरणाको गतिलो स्रोत हुनुहुन्छ । ६९ वर्षको उमेर टेक्न लागेका श्रीमान् र उहाँको यो जोडीले प्रमाणित गरिदिएको छ कि ‘यदि दृढ इच्छाशक्ति, कडा परिश्रम र आफ्नै माटोमा विश्वास हुने हो भने उमेर र समाजका कुनै पनि बाधाले सफलताको बाटो रोक्न सक्दैन ।



















