दाङ । हुलाकी राजमार्गअन्तर्गत दाङ र बाँकेको सीमाक्षेत्रमा बाँकी रहेको सडक खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ । दाङमा २२ किलोमिटर सडक र २१ वटा पुल तथा बाँकेमा ३६ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि करिब सात अर्ब ५० करोड रुपियाँ लागत अनुमानसहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।
सडक निर्माणका लागि डिभिजन वन कार्यालय बाँकेबाट अधिकांश प्रक्रिया पूरा भइसकेको भए पनि दाङ डिभिजन वन कार्यालयको सिफारिस भने प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट भोगाधिकार र रुख कटानका लागि आवश्यक सिफारिस प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको राजपुर गाउँपालिकाको गौगदीसम्मको सडक खण्ड निर्माण हुन बाँकी छ । दाङतर्फ अधिकांश क्षेत्रमा सडकको ट्र्याक मात्र खोलिएको छ ।
यसैगरी दाङको हाडबासदेखि बाँकेको राप्तीसोनारी गाउँपालिका–बैजापुरसम्मको खण्ड पनि निर्माण हुन बाँकी रहेको छ । दाङ खण्डको तुलनामा बाँकेको बाँकी भाग भौगोलिक रूपमा बढी चट्टानी र जोखिमयुक्त रहेको बताइएको छ । हुलाकी सडक निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ ।



















