२०८३ साउन ६ गते बुधवार

तीन पालिकामा एक हजार १५ खानेपानी धारा निर्माण


दाङ । प्युठानको ऐरावती गाउँपालिका–२ को ऊखुबारी बस्तीका सबै घरमा खानेपानी सुविधा पुगेको छ । २७ घरधुरी र गाउँकै एक प्राथमिक विद्यालयमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयलाई सहज भएको हो ।

ऐरावती गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको साझेदारीमा सञ्चालित ऊखुबारी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना सम्पन्न भएपछि घरघरमा खानेपानी धारा पुगेका हुन् ।

आयोजनामा नेवाको ११ लाख २५ हजार १०८ रुपियाँ, ऐरावती गाउँपालिकाको सात लाख ५६ हजार ९१७ रुपियाँ र उपभोक्ता समितिको पाँच लाख ९३ हजार ६५६ रुपियाँ बराबरको श्रमदान रहेको उपभोक्ता समितिका अध्यक्ष कमल नेपालीले जानकारी दिनुभयो ।

गाउँपालिकाले नेवासँगको साझेदारीमा चालु आर्थिक वर्षमा चारवटा खानेपानी आयोजना निर्माण गरेको छ । ‘एक घर एक धारा’ अभियानअन्तर्गत यस आर्थिक वर्षमा चारवटा आयोजना सम्पन्न भएको र आगामी आर्थिक वर्षका लागि समेत योजना छनोट गरिएको गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले बताउनुभयो ।

जिल्लामा नेवा र स्थानीय तहको साझेदारीमा चालु आर्थिक वर्ष २०८२/८३ मा ऐरावती, सरुमारानी र गौमुखी गाउँपालिकामा १६ वटा खानेपानी आयोजना निर्माण भएका छन् ।

नेवाका वरिष्ठ आयोजना संयोजक भरत भट्टका अनुसार गौमुखी गाउँपालिकामा नौवटा, ऐरावती गाउँपालिकामा चारवटा र सरुमारानी गाउँपालिकामा तीनवटा आयोजना निर्माण भएका छन् । ती आयोजनामार्फत एक हजार १५ वटा खानेपानी धारा निर्माण गरिएको र आठ हजार ४५९ जना लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस