दाङ । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले गत सय दिनको अवधिमा आयोजनाका विभिन्न शाखा, प्रशाखा अन्तर्गत १३ किलोमिटर नहर निर्माण सम्पन्न गरेको दाबी गरेको छ ।
आयोजना प्रमुख राजु आचार्यले वर्तमान सरकारको सय दिन पुग्दापुग्दै आयोजनाको उपलब्धि र प्रगतिबारे जानकारी दिँदै आयोजनाले यो समयावधिमा राप्तीसोनारी, खजुरा र बैजनाथमा रहेका विभिन्न शाखा, प्रशाखा अन्तर्गतको १३ किलोमिटर नहरको निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । त्यसका साथै एक हजार हेक्टरभन्दा बढी भूमिमा सतही सिँचाइका लागि पानी पुर्याएको दाबी गर्नुभयो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलको थप भूमिमा सिँचाइको सुविधा पुर्याइएको जनाउँदै आयोजना प्रमुख आचार्यले सिक्टा सिँचाइ आयोजनाले सुविधा दिएको क्षेत्रफल गत वर्षसम्म २२ हजार पाँच सय हेक्टर रहेकामा यो वर्ष दुई हजार पाँच सय हेक्टर क्षेत्रफल थप भई २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताउनुभयो ।
सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर मनोजकुमार शाहले सय दिनको अवधिमा कार्यालयको सुधार तथा सय कार्यसूचीको कार्यान्वयनका लागि नागरिक बडापत्रलाई डिजिटलाइजेसन गरिएको, उजुरी तथा गुनासोका लागि क्युआर कोड तयार गरिएको, इ–हाजिरीको व्यवस्था गरिएको, प्रयोगशालाको क्षमता वृद्धि गरिएको, विगतमा रोकिएका फाइल शून्यको नीति अवलम्बन गरिएकोलगायतका कार्य पनि सम्पन्न भएको बताउनुभयो ।
उहाँका अनुसार बाँकेको करिब ४३ हजार खेतीयोग्य जग्गामा सतही सिँचाइ प्रणालीबाट सिँचाइ पुर्याउने लक्ष्यसहित दुई दशकअघि निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले हालसम्म आधाभन्दा बढी २५ हजार हेक्टरमा पानी पुर्याइसकेको छ । पूर्ण रूपमा आकासे पानीको भरमा खेती गर्दै आएका बाँकेका किसानलाई यो आयोजनाले केही वर्षयता थोरै भए पनि राहत पुगेको किसानले जनाएका छन् ।



















