२०८३ साउन ६ गते बुधवार

बजेट अभावले लमही ट्रमा सेन्टर निर्माणको काममा ढिलाइ


दाङ । दाङको लमहीमा निर्माणाधीन ट्रमा सेन्टर बजेट अभावका कारण सम्पन्न हुन सकेको छैन् ।
देउखुरी क्षेत्रमा हुने सडक दुर्घटनाका घाइतेलाई छिटो र सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गर्न थालिएको ट्रमा सेन्टर बजेट अभावका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको हो ।

लमही नगरपालिका–५, लमही बजारमा ५० शैयाको ट्रमा सेन्टर निर्माणका लागि २०७७ चैत २४ गते लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिसँग भ्याटबाहेक १९ करोड ४१ लाख चार हजार १४ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असार २३ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम पूरा हुन सकेको छैन ।

सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख ईश्वरीप्रसाद देवकोटाका अनुसार ट्रमा सेन्टरको करिब ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । मुख्य भवन, क्यान्टिन, चिकित्सक, नर्स तथा कर्मचारीका लागि क्वाटर र पोस्टमार्टम भवन निर्माण भइसके पनि रङरोगन, टायल बिछ्याउने, विद्युत् जडान, लिफ्ट जडान, शौचालय तथा अन्य फिनिसिङका काम अझै बाँकी छन्‌ ।

प्रमुख देवकोटाले भवनको मुख्य संरचना तयार भइसकेको भए पनि केही काम बाँकी रहेकाले सो निर्माण गर्न करिब सात करोड रुपियाँ आवश्यक पर्ने बताउनुभयो तर प्रदेश सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपियाँ मात्र विनियोजन गरेकाले नयाँ काम अघि बढाउनुको सट्टा अघिल्लो भुक्तानी व्यवस्थापनमै बजेट खर्च भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार निर्माणमा सुरुका वर्षमा कोरोना महामारीले निर्माण काममा प्रभाव परेको थियो भने पछिल्लो समय बजेट अभावले काममा बाधा पुग्न थालेको छ । निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङले पर्याप्त बजेट नआउँदा निर्माण सामग्री खरिद गर्न नसकिएको बताउनुभयो ।

सरकारले समयमै भुक्तानी नगर्दा व्यवसायीले उधारोमा सामग्री दिन छाडेकाले काम प्रभावित भएको उहाँको भनाइ छ । पर्याप्त बजेट उपलब्ध भएमा चारदेखि पाँच महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार हालसम्म निर्माण कम्पनीलाई ११ करोड ६४ लाख ६२ हजार ४०८ रुपियाँ भुक्तानी गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस