दाङ । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तुलसीपुर–१, भ्यूडहर सुनपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ८० जना गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गरेको छ ।
बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम, ज्यामिति बाकस र झोला हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष ईसरा चन्द हमालको अध्यक्षता तथा बैंकका क्षेत्रीय प्रमुख विनोद प्रसाद जैसीको प्रमुख आतिथ्यता एवं बैंककै तुलसीपुर शाखा प्रबन्धक राजीव ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बैंकका क्षेत्रीय प्रमुख विनोद प्रसाद जैसीले बैंकले हरेक वर्ष विभिन्न विद्यालयहरूमा यस्ता सामाजिक कार्यहरू गर्दै आएको र यस वर्ष वीरेन्द्र माध्यमिक विद्यालयलाई छनोट गरिएको जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीहरूलाई प्राप्त सामग्रीको सही सदुपयोग गर्न समेत जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक टोपबहादुर घतीले कार्यक्रमको प्रस्तावना तयार पार्नेदेखि सामग्री वितरणको चरणसम्म सहयोग पुर्याउने एनआईसी एसिया बैंक र सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्नुभयो ।
यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप प्रेरणा र उत्साह प्रदान गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
आवश्यक र पर्याप्त शैक्षिक सामग्री पाएपछि विद्यालयका छात्रछात्राहरू निकै खुसी देखिएका थिए । कार्यक्रमकै अवसरमा विद्यालयको तर्फबाट प्रमुख अतिथि जैसी र विशिष्ट अतिथि ओलीलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
विद्यालयका माध्यमिक तहका संयोजक तथा सूचना अधिकारी बेद प्रकाश भट्टराईले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र बैंकका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।






















