२०८३ साउन ५ गते मङ्गलवार

हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियान सुरु, अवलोकनमा पुगेकालाई भव्य स्वागत


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले ‘हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियानको थालनी गरेको छ ।

जनप्रतिनिधिको पहलमा सम्पन्न भएका विकास निर्माणका योजनाको स्थलगत अनुगमन तथा अवलोकन गर्ने उद्देश्यले शनिबार बिहान तुर्कि चोकदेखि क्वाङखोला सम्मको कालोपत्रे सडकमा हिँडाइ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वडाभित्रका नागरिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विकास निर्माणको स्थलगत अवलोकनमा पुगेका पाहुनाहरूलाई चोक–चोकमा भव्य स्वागत गरिएको थियो। उरहरी चोक हँदै तुर्कि चोकमा पुगेको टोलि नमुना टोल हुँदै क्वाङ खोला,पिपरडाँडा,मोतिपुरको विकास निर्माणमा स्थानियलाई जागरुक बनाउने उदेश्यले सुरू भएको अभियानको शुभारम्भ वडा अध्यक्ष मानबहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले विकास निर्माणमा वडा नम्वर ११ ले उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले विकासका लागि सबैभन्दा आवश्यक कुरा इच्छाशक्ति, प्रतिबद्धता र समन्वय भएको उल्लेख गर्दै वडा अध्यक्ष रावतले ती तीनै पक्षलाई प्रभावकारी रूपमा अगाडि बढाएको बताउनुभयो ।

सबै राजनीतिक दल, स्थानीय समुदाय र सरोकारवालालाई साथमा लिएर विकासलाई तीव्रता दिएको उल्लेख गर्दै उहाँले यही सहकार्य र एकताले वडालाई नमुना बनाएको धारणा राख्नुभयो ।

पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीले वडा नम्बर ११ ले अघि सारेको विकासको मोडल अन्य जनप्रतिनिधिका लागि पनि सिकाइको विषय भएको बताउनुभयो। उहाँले वडा अध्यक्ष रावतको सक्रियता, निरन्तर खटनपटन र नेतृत्व क्षमताका कारण स्थानीयका आवश्यकता र समस्याहरू सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुगेको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उदाहरण ११ नम्बर वडाले प्रस्तुत गरेको भन्दै आगामी दिनमा पनि यही अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

रास्वपाका वडा सभापति किरण बस्नेतले विकास निर्माणका काममा सबैलाई समान रूपमा सहभागी गराई सहकार्यको वातावरण सिर्जना गरेकोमा वडा नेतृत्वलाई धन्यवाद दिनुभयो ।

विकास कुनै एक व्यक्ति वा दलको नभई समग्र समुदायको साझा अभियान भएकाले आगामी दिनमा पनि यस्तै सहकार्य कायम रहनुपर्ने उहाँको भनाइ छ ।

नेकपा एमालेका होताराम बस्नेतले विकास निर्माण सबैको साझा जिम्मेवारी भएकाले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने बताउनुभयो। उहाँले वडाको समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका गजाधर चौधरीले जनप्रतिनिधिहरूको अथक प्रयास र योजनाबद्ध कार्यशैलीका कारण वडा नम्बर ११ ले विकास निर्माणमा उल्लेखनीय फड्को मारेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य पूर्वाधार विकासमा भएका उपलब्धिलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

सुकुम्बासी समस्या समाधान आयोग दाङका पूर्व अध्यक्ष हुकुम बस्नेतले तुलसीपुर उपमहानगरपालिकाका १९ वडामध्ये वडा ननम्वर ११ विकासका दृष्टिले हेर्नलायक र उदाहरणीय वडा बन्न सफल भएको बताउनुभयो। उहाँले यसको श्रेय वडा अध्यक्ष रावतको नेतृत्व, जनप्रतिनिधिको सक्रियता र स्थानीयवासीको सहकार्यलाई दिँदै धन्यवाद दिनुभयो ।

वडा सदस्य यज्ञबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव पदमकुमार भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस