२०८३ कार्तिक ११ गते बुधवार

किसानलाई पेन्सन दिने सरकारको प्रतिबद्धता


दाङ । सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा विषय समावेश छ । जसको बुँदा नम्बर २ मा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’को विषय छ ।

जसमा भनिएको छ, ‘योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवासुविधा र सामाजिक सुरक्षा तथा संरक्षण उपलब्ध गराइनेछ ।’

बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठक भएकै दिन १३ चैतमा शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी भएको थियो । उक्त कार्यसूचीबाहेक गत २१ फागुनको निर्वाचनमा सहभागि भएका र चुनावबाट आएका राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलहरूका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ ।

राष्ट्रिय प्रतिबद्धतामा उल्लेख भएका कतिपय विषय आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेको छ । नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयहरूलाई भविस्यका सुधार एजेण्डासँग आवद्ध गर्दै लैजाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यही असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय प्रतिबद्धतामा प्राथमिकताका साथ कृषिको विषय उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिई कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका उपाय अवलम्बन गरिनेछ ।

भूउपयोग योजनाको पुनरावलोकन गरी बाँझो कृषि जग्गाको उपयोग सहित चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ । रैथाने लगायत उन्नत स्वदेशी र पोषणयुक्त बिउ उपलब्ध गराई गुणस्तरीय कृषिजन्य उत्पादन र बजार सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता छ । हरेक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गरी स्वदेशी/रैथाने बीउ संरक्षण र प्रवर्धन गर्ने भनिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस